Techie IT
×
गृहपृष्ठराजनीतिप्रदेश नं २ को नाम ‘मधेस’, स्थायी राजधानी ‘जनकपुरधाम’

प्रदेश नं २ को नाम ‘मधेस’, स्थायी राजधानी ‘जनकपुरधाम’


जनकपुर- प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो ।

प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ ।

सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लाकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेस प्रदेशका लागि भएको मतदानमा ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । उक्त सङ्ख्या प्रदेशसभामा उपस्थिति ९९ प्रदेशसभा सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेस प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेस प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे ।

हाल प्रदेश नं २ को प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ । प्रदेश नं २ का नामका लागि मधेस प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गरिएको थियो ।

यस्तै, आजै प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभामा आज भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको थियो । हाल कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो ।

जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त सङ्ख्या दुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए ।

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको उल्लेख छ । दोस्रो पटकको प्रयासमा प्रदेशको नाम र राजधानीको टुङ्गो लागेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig

तपाईको प्रतिक्रिया दिनुहोस