Techie IT
×
गृहपृष्ठराजनीतिके ब्यूँतिएला थारु आन्दोलन?

के ब्यूँतिएला थारु आन्दोलन?


‘भूगोल’ र, ‘पहिचान’ खतरामा परेको भन्दै २०६४ सालमा ‘थरुहट’ आन्दोलनको सुरुवात भएको थियो।

तर एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते भएको ‘टिकापुर’ घटनापछि थारु आन्दोलन भताभुंग भयो।

र, करिब १२ वर्षपछि फेरि यो आन्दोलनको आवश्यकतामाथि बहस सुरु भएको छ।

आन्दोलन जहाँबाट शिथिल भएको थियो थारु अगुवाहरुको एउटा पक्षले त्यही ‘टिकापुर’बाट फेरि यो आन्दोलन ब्यूँताउने प्रयास गर्न थालेकोे छ।

गत असारको २० र २१ गते चितवनमा भएको ‘एकीकृत थरुहट–थारुवान’ राष्ट्रिय भेलाले ‘थारु आन्दोलन’को आवश्यकतामाथि फेरि बहसको सुरुवात गरेको हो।

उक्त भेलाले २२ बुँदे ‘चितवन’ घोषणापत्र पनि पारित गरेको छ। त्यसमा भदौ ७ गतेलाई ‘विद्रोह दिवस’का रुपमा मनाउने घोषणा पनि गरिएको छ।

२०७२ साल भदौ ७ गते थारुहरुको आन्दोलनका क्रममा टिकापुरमा भएको एउटा हिंसात्मक आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एकजना शिशुसहित ८ जनाको मृत्यु भएको थियो।

त्यो घटनाका मुख्य दोषी मानिएका सांसद रेशम चौधरीलाई अहिले जन्मकैदको सजाय सुनाइएको छ र, उनीलगायत ११ जना अहिले जेलमा छन्।

‘२०६५ सालमा औपचारिक घोषणा भएको थरुहट आन्दोलन यही टिकापुर आन्दोलनपछि सुस्तायो’ मार्टिन चौतारीले आइतबार राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा थारु अगुवा मीनराज चौधरीले भने ‘तर, आन्दोलनको आवश्यकता त अझैँ छ र, यो आन्दोलन फेरि हुनेछ पनि।’

‘थारु कल्याणकारिणी सभाको आन्दोलन र अबको बाटो’ छलफलमा बोल्दै उनले अबथ प परिमार्जनसहित आन्दोलन गर्नुपर्ने आवश्यकता औल्याए। उनी थारु कल्याणकारिणीसभाका उपमहामन्त्री हुन्।

‘अब समय फेरिएको छ। राजनीतिक परिस्थितिहरु धेरै फेरिइसकेको छ। र, हामीले पनि आन्दोलनका केही कमजोरीहरुलाई सच्याएर अघि बढ्नुपर्नेछ’ उनले भने ‘त्यो बेला नै थारु आन्दोलनकारीहरुमा फुट नआएको भए, हामी नबिथोलिएको भए वा टिकापुर घटना नभएको भए सायद थारु आन्दोलनले एउटा राजनीतिक कोर्ष पूरा गरिसकेको हुनेथियो।’

उनका अनुसार राज्यले केही क्षतिपूर्ति र, थारु आयोग बनाउनुबाहेक थारुहरुले उठाएका कुनै पनि राजनीतिक मुद्दाहरुमा सम्बोधन गरेको छैन।

यही थारु आन्दोलनलाई ब्यूँताएर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गत असारमा ‘एकीकृत थरुहट–थारुवान’ राष्ट्रिय भेला गरिएको थियो।

त्यो भेलामा टिकापुर घटना भएको भदौ ७, ८ र ९ गते कैलालीमा ‘विद्रोह दिवस’ मनाउने प्रस्ताव छलफल भएको थियो। तर, कैलालीमै सम्मेलन नगर्ने भन्नेमा भेलाका एक तिहाइ जनमत भयो।

थारु कल्याणकारिणी सभाका उपमहामन्त्री चौधरीका अनुसार भने उक्त भेला कैलालीमै हुनेछ। त्यसमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समुदायको पनि प्रतिनिधित्व हुनेछ।

‘७ गते हामीले विद्रोह दिवस मनाउने भएका छौँ। त्यो दिन हामीले टिकापुरमा राष्ट्रिय अन्र्तराष्ट्रिय, गैर थारु समुदायसँग सद्भावको बारेमा छलफल गर्नेछौँ’ उनले भने ‘८ गते कालो दिनका रुपमा मनाउनेछौँ र, सत्याग्रहको सुरुवात हुनेछ। नौ गतेदेखि देशैभर ‘हरियो भेस्ट’ लगाएर विरोध गर्नेछौँ।’

उनका अनुसार त्यही ‘टिकापुर’ सम्मेलनले नै आन्दोलनको आगामी दिशा तय गर्नेछ। र, सबै सबै आन्दोलनकारी, आन्दोलनका पक्षहरुलाई समेटेर अब ‘एकीकृत थरुहट–थारुवान’ आन्दोलनको सुरुवात हुने उनले बताए।

मार्टिन चौतारीको छलफलमा थारु अनुसन्धाता तथा पत्रकार डा. कृष्णराज सर्वाहारीले थारुहरुले उठाएको राजनीतिक मागहरु पूरा गर्नुको सट्टा अनेक बाहानामा सरकारले ‘टार्ने’मात्रै काम भएको बताए।

‘यो नश्लवादी आन्दोलन त होइन तर, अपब्याख्या गरियो, बुझाई गलत भयो। हामीले पनि बुझाउन सक्नुपर्ने थियो’ उनले भने ‘अब हामी फेरि अगाडि त बढ्नुपर्छ नै तर, विगतमा भएका कमी–कमजोरीहरुको समीक्षा गरेरमात्रै।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #banner, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस