Techie IT
×
गृहपृष्ठराजनीतिहरेक प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार गरिने : स्वास्थ्य राज्यमन्त्री

हरेक प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार गरिने : स्वास्थ्य राज्यमन्त्री


रासस –

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए ।

‘यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्,’ उनले भने, ‘अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न पर्‍यो । हामी उपलब्ध गराउन तयार छौँ ।’

दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै उनले ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने बताए ।

उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडेर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

कार्यक्रममा स्वास्थ्य सचिव डा। रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए । उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरूले सहयोग गर्ने बताए । उनले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस