Techie IT
×
गृहपृष्ठसमाचारअस्ट्रेलियामा विद्यार्थीका समस्या – काम ,कोठादेखि स्वदेश फिर्न पाउँ

अस्ट्रेलियामा विद्यार्थीका समस्या – काम ,कोठादेखि स्वदेश फिर्न पाउँ


सिड्नी — अस्ट्रेलियामा उच्च अध्ययनका लागि आएका करिब ६२ हजार नेपाली विद्यार्थीसँगै कोरोनाको महामारीमा उनीहरुको बढ्दो समस्यालाई मद्देनजर गरेर अस्ट्रेलियास्थित नेपाली राजदूतावासले विद्यार्थीहरूको सर्वेक्षण  प्रारम्भ गरेको थियो ।

समस्यामा परेका विद्यार्थीहरूले कोरोना र लकडाउनका कारण भोग्नु परेका पीडा अनि संकटका बिषयमा गरिएको सो सर्वेक्षणमा हाल अस्ट्रेलियामा रहेका ६२ हजार विद्यार्थीमध्ये मात्र १८ सयले मात्र सहभागिता जनाएका छन् । हुन त आफ्नै खर्चमा बिदेशमा अध्ययन गर्न भनेर प्रारम्भमै सहिछाप गरेर आएका विद्यार्थीहरूका सवालमा कोरोनाको त्रास होस् या कामको उठिवास, आफैमा पीडा सहनुपर्ने वाध्यता छंदैछ । तर यस पटक नेपाली राजदूतावासले भने विद्यार्थीहरूलाई आह्वान गरेर समस्याको पोको खोलीदिन आग्रह गर्नु एउटा महत्वपूर्ण कर्म पनि थियो । समस्याको समाधान गर्न सक्षम नभएपनि समन्वयकारी भूमिकामा दूतावासले यस पटक आफ्नो इज्जत भने जोगाएकै मान्नुपर्छ । यसरी राजदूतावासले गरेको सर्वेक्षणमा एक हजार आठसय विद्यार्थीले आफ्ना समस्याका पोका खोल्ने क्रममा धेरैले कोरोनाका कारण रोजगारी गुमाउंदा आर्थिक समस्यामा पील्सनु परेको भाव ब्यक्त गरेका छन् । हुन पनि अस्ट्रेलियामा कोरोनाको प्रभावका कारण करिब तीस लाख मानिसले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका थिए, जसमा अन्तर्राष्ट्र्रिय विद्यार्थीको संख्या करिब दुइ लाख भन्दा बढि रहेको थियो ।

ग्राटन इन्स्टिच्युटको “शटडाउन: एस्टीमेटीङ दि कोभिड १९ इम्प्लोयमेन्ट शक ” नामक प्रतिवेदनले हस्पिट्यालिटी उद्योग सबैभन्दा बढी प्रभावित भएको र करिब ६० प्रतिशत रोजगारीका अवसर गुमेको जनाएको छ । यस्तै सोही प्रतिवेदनका अनुसार कला र मनोरञ्जन उद्योगले पनि ५० प्रतिशत भन्दा बढी कामदारहरूलाई रोजगारीमा राखी राख्न नसक्ने जनाएको छ । नेपाली  विद्यार्थीहरु मध्ये करिब एक सयले यस अवस्थामा केहि महिनाका लागि स्वदेश फर्कन ब्यबस्था मिलाइदिन समेत राजदूतावासलाई आग्रह गरेका थिए भने धेरैको समस्या काम, कोठाकै बढि देखिएको छ । धेरैले काम गुमाएको र केहिले कलेजको फी अनि सेमिस्टर सार्न पाउन आग्रह गरेका थिए । यसमा आकस्मीक रुपमा हातमुख जोर्न र अप्ठयारा आइपरेकाहरुलाई टेलिफोन मार्फत एनआरएनए र अन्य संघ संस्थामार्फत सहयोग उपलब्ध गराइएको  नेपाली राजदूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले बताइन् ।

“केहि फरक र अलग खाले समस्याहरुको मिश्रण भएकोले हामी यसलाई प्राथमिकताका आधारमा निक्र्यौल गरेर समाधानको उपाय खोज्ने काममा लागेका छौं,” सापकोटाले भनिन् ।   हुन पनि विद्यार्थीका आआफनै समस्या छन्, कोही कामको मार त कोही आर्थिक अभावमा पील्सीएका छन् । मंहगो शैक्षिक शुल्क र गासवास अनि कपास धान्न कोरोना भन्दा पनि बढि जसरी भएपनि गरौन भन्ने सोचमा देखिन्छन् विद्यार्थी । विद्यार्थीका समस्याकाबारेमा नेपाली राजदूत महेशराज दाहालले भने, “हामीले उच्च अध्ययनमा अस्ट्रेलिया आएका नेपाली विद्यार्थीको समस्याको पहिचान र समाधानको उपायका लागि यो सर्वेक्षणको सुरुआत गरेका हौं । समस्यामा परेका एक हजार आठ सय विद्यार्थीले आपना समस्या राख्नु भएको छ । यसैलाई आधार बनाएर कस्ता खाले समस्या छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने काममा हामी लागेका छौं ।”

नेपालीहरुमा कोरोनाको प्रभाव खासै नदेखिएपनि जतिलाई देखियो त्यसमा दूतावासले सक्रिय भएर आवश्यक सहयोगको कार्य गरेको राजदूत दाहालले बताए । आइसोलेसनमा रहेका नेपाली विद्यार्थीको हकमा होस या समस्यामा परेका हुन् ,हामीले जतिबेला पनि राजदूतावासको नम्बरमा फोन घुमाउनुहोस, हामी चौबिसै घन्टा तयार छौ भनेका छौ ,दाहालले सुनाए । कोरोनाले बिश्वलाई आक्रान्त  पारिरहेको बेला अस्ट्रेलिया भने यसको कहरवाट अहिलेसम्म मानवीय क्षति  र संक्रमणका आधारमा केहि जोगिएको अवस्थामा हो ।

यस्तो परिस्थितिमा नेपाली विद्यार्थीहरुले धैर्यधारण गर्ने, आफ्ना अभिभावकसँग नियमति सम्पर्कमा रहने र ख़र्च पानीकाे उचित ब्यवस्थापन गर्नुका साथै संक्रमणबाट बच्न सुरक्षीत भएर हिंड्नु जरुरी देखिन्छ ।

 

  • जीएनएन

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस