Techie IT
×
गृहपृष्ठसमाचाररअ का प्रमुख गोयललाई भेट्दा पुगेको क्षति कम गर्न आफ्ना विश्वास पात्रहरुलाई परिचालन गर्दै प्रधानमन्त्री

रअ का प्रमुख गोयललाई भेट्दा पुगेको क्षति कम गर्न आफ्ना विश्वास पात्रहरुलाई परिचालन गर्दै प्रधानमन्त्री


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयललाई भेट्दा पुगेको क्षति न्यून गर्न आफ्ना विश्वास पात्रहरुलाई परिचालन गरेको सुचना बाहिरिएको छ।

स्रोतका अनुसार उनीहरु ओली र सामन्त कुमारको भेटलाई बचाउने काममा उत्रिसकेका छन्। त्यसका केही संकेतहरुसमेत सार्वजनिक भएका छन्। चार्टर्ड विमानमा आफ्नो विशेष टोलीसहित नेपाल आएका सामन्त कुमारलाई प्रधानमन्त्री ओलीले यही असोज ५ गते राति बालुवाटारमा करिब दुई घण्टा भेटेका थिए।

कोरोना महामारीलगायतका कारणले मुलुकमा संकट निम्तीएका बेला प्रधानमन्त्री ओलीले सरोकारवाला निकाय र व्यक्तिहरुलाई कुनै पनि जानकारी नगराई सामन्त कुमारलाई भेटेपछि त्यसलाई लिएर अहिले सर्बत्र विरोध चर्किएको छ ।

प्रधानमन्त्री र सामन्त कुमारबीचको भेटलाई त्यस दिन गोप्य राख्ने कोशिस गरेको प्रधानमन्त्रीको निजी सचिवालयले भोलिपल्ट बाध्य भएर त्यसबारे सूचना सार्वजनिक गरेको थियो। सचिवालयले ओली र सामन्त कुमारबीचको भेटमा नेपाल, भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्पारिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा सामन्तकुमारले आफ्नो धारणा राखेको दाबी गरेको थियो।

तर सीमा विवादलगायत विषयमा वार्ता गर्नका लागि दुबै मुलुकसँग अनेक संयन्त्र भएपनि तिनले प्रभावकारी काम गर्न नसकेका बेला सामन्त कुमार र ओलीबीच भएको भेटलाई लिएर अनेक कोणबाट विश्लेषण र आलोचना भएपछि ओलीले आफ्ना विश्वास पात्रहरुलाई त्यसको बचाउमा उतारे फेरी आलोचना खेपेका छन्।

यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ओली र सामन्त कुमारको भेटलाई लिएर गरिएको विरोधको योजना हो या नियति भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियति? वुझ्न गाह्रो भो। आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ। नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

यता ओलीका अर्का विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सामन्त कुमार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नेपाल आएको भन्दै उनको र प्रधानमन्त्री ओलीबीचको भेटलाई बचाउ गरेका छन्।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस