Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए पोर्चुगलका टोलेगुण्डाहरुले मागे माफी – अब उप्रान्त कुनै पनि असामाजिक घटनामा संलग्न भए संघबाट स्वतः बर्खास्त हुने !

एनआरएनए पोर्चुगलका टोलेगुण्डाहरुले मागे माफी – अब उप्रान्त कुनै पनि असामाजिक घटनामा संलग्न भए संघबाट स्वतः बर्खास्त हुने !


पोर्चुगल — पोर्चुगलमा नेपालीहरुलाई सिलसिलेवार रुपमा मारपिट गर्दै आफुलाई सर्वश्रेष्ठ र शक्तिमान देखाउन टोलेगुण्डाकै हर्कत देखाउदै आएका संघका निलम्बित उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष बिक्रमजंग कुँवर, प्रस्तावित सदस्य विशाल आचार्यले अन्ततः आफ्नो गल्ती स्वीकार गरेका छन्। उनीहरुले लिखित रुपमा आफुहरुले गल्ती गरेको र अब उप्रान्त कुनै पनि गलत हर्कत नगर्ने भन्दै लिखित रुपमा माफी मागेका छन्।

गैह्र आवासिय नेपाली संघ पोर्चुगल जस्तो नेपालीहरुको साझा संस्थाको जिम्मेवार पदमा बसेर पनि बारम्बार टोलेगुण्डाकै शैलीमा समाजमा धाकधम्की र मारपिट गर्दै आएका निलम्बित बरिष्ठ उपाध्यक्ष थापा, कोषाध्यक्ष कुँवर, प्रस्तावित सदस्य आचार्यले एक संयुक्त हस्ताक्षरित निबेदनमा आफुहरुले गल्ती गरेको र अब उप्रान्त कुनै पनि गल्ती नगर्ने प्रतिबद्धता जनाउदै कुनै पनि मारपिट र अप्रिय घटनामा संलग्नता भए स्वतः संघबाट बर्खास्त हुने भन्दै संघमा निबेदन बुझाएका छन्। यसघि उनीहरुले उक्त घटनामा आफुहरुको कुनै गल्ती नभएको जिकिर गर्दै आएका थिए। त्यत्ति मात्रै होइन, उक्त घटनामा पीडकहरुको नै गल्ती देखाउदै सामाजिक संजालमा आफ्नो अभिव्यक्ति दिदै आएका थिए।

संघका उपाध्यक्ष थापा, कोषाध्यक्ष कुँवर, प्रस्तावित सदस्य आचार्य सहितले सिन्त्रामा एक नेपालीलाई रगताम्ये हुनेगरी कुटपिट गरेपछि आक्रोशित नागरिक समाजका युवाहरुले संघको कार्यालयमा ताला लगाई दिएका थिए।

संघको कार्यालयमा ताला लागेको एक महिना पश्चात् नागरिक समाजका युवाहरुसँग जुलाई ७ तारिख उक्त घटना छानबिन समितिका संयोजक पूर्ण बहादुर हमालले छलफल गरि लिखित सम्झौतामा कार्यालयको ताला खोली कामकाज सुचारु गरिएको थियो।

नागरिक समाजका युवाहरुसंग भएको सम्झौतासंगै उक्त घटनामा संलग्न र नेपालीहरुमाथि सिलसिलेवार मारपिट गर्दै आतंक फैलाउने संघका बरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष बिक्रमजंग कुँवर, प्रस्तावित सदस्य विशाल आचार्यलाई बर्खास्त गरिएको थियो। घटनास्थलमा उपस्थित तर घटनामा कुनै संलग्नता नभएका कार्यसमिति सदस्य र सो घटनास्थलमा उपस्थित कार्यसमिति सदस्य सुमन शर्मा चम्लागाईलाई बिना कुनै आधार निलम्बन र पुनर्बहाली गरिएको छ। चम्लागाई कार्यसमितिले आफूमाथि अन्याय गरेको बताउछन। कार्यसमितिलाई आफ्नो गल्ती के हो भनेर पटक पटक सोध्दा पनि कुनै उत्तर नआएको उनको जिकिर छ।

लिखितम माफी मागेसँगै पद पुनर्बहाली :

टोलेगुण्डा शैलीमा मारपिटमा उत्रिएका बरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष बिक्रमजंग कुँवर, प्रस्तावित सदस्य विशाल आचार्यले गल्ती स्वीकार गर्दै लिखितम माफी मागेसँगै संघको कार्यालयमा ३ सेप्टेम्बरमा बसेको बैठकले अन्तिम पटक मौका दिदै उनीहरुलाई पुनर्बहाली गरेको छ। तर संघका सदस्य चम्लागाईलाई भने किन निलम्बन र पुनर्बहाली गरियो, संघले खुलाएको छैन।

सम्झौता बमोजिम निर्णय नगरेकोले नागरिक समाजका युवाहरु आक्रोशित :

उता नागरिक समाजका युवाहरु संघका अध्यक्ष गैरेले मारपिट संलग्न पदाधिकारीहरुको बचाउ गर्दै सम्झौता गरिए बमोजिम निर्णय नगरेकाले आक्रोशित भएका छन्। संघले आफ्नो निर्णय नसच्याए संघको कार्यालयमा फेरी तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन्।

उनीहरुले सम्झौता बमोजिम घटनामा संलग्न एनआरएनए पदाधिकारी तथा सदस्यहरुले पोर्चुगलमा रहेका संघसंस्थाका अध्यक्ष वा प्रतिनिधि, पूर्व अध्यक्ष, नागरिक अगुवा तथा पत्रकारहरु सम्मलित कार्यक्रममा विगतदेखिको घटना अब नदोहोर्‍याउने प्रतिबद्धता सहित माफी माग्नु पर्ने वा त्यसो गर्न अस्विकार गरेमा वर्खास्थ गरिनु पर्ने अडान छ ।

जनसम्पर्क समितिले गुण्डागर्दीको बचाउ गरेको आरोप :

उक्त घटनामा संलग्न तिनै पीडकहरु नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति सम्बद्ध हुन्। बरिष्ठ उपाध्यक्ष थापा र कोषाध्यक्ष कुँवर जनसम्पर्क समितिले निर्वाचनमा पठाएको हो भने प्रस्तावित सदस्य आचार्य पनि जनसम्पर्ककै सिफारिसमा संघमा जाने दाउमा रहेको श्रोतको दाबी छ।

पोर्चुगलमा टोलेगुण्डाहरुको राज सकिएको नागरिक समाजको भनाई :

पोर्चुगलको नेपाली समाजमा सिलसिलेवार रुपमा नेपालीहरुमाथि हुने कुटपिटका घटनाले यहाको नागरिक समाज आजित भईसको छ। बारम्बार हुने यस्ता घटनाले नेपाली समुदायको साख कम हुने र नेपालीहरु अन्तराष्ट्रिय र स्थानीय समुदायमा लज्जित हुनुपर्ने र नेपालमा पनि आफन्तहरुमा तनाव हुने भएकोले कुनै पनि दादागिरी र गुण्डागर्दीका घटनाहरुको डटेर प्रतिकार गर्ने उनीहरुको जिकिर छ।

नागरिक समाजका युवाहरु भन्छन, ” कुनै पनि राजनैतिक पार्टी, सामाजिक संस्थाको आडमा कसैले समाजमा अराजकता फ़ैलाउछ र गुण्डागर्दी गर्छ भने , हामी युवाहरु अब चुप बस्दैनौ। युरोपमा बसेर पनि सभ्यता र अनुशासन हामीले कहिले सिक्ने ? “


क्याटेगोरी : ग्लोबल, यूरोप, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस