Techie IT
×
गृहपृष्ठसमाचारनेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, १२४ जना संक्रमणमुक्त

नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, १२४ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकासँगै कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ । हाल आठ हजार १९३ जनामा आइसोलेशनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।

काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

त्यस्तै, काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९÷९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप तीन जनाको निधन

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस