Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाखोप त बाँदरलाई पनि लगाउँदैनौँ : अमेरिका

खोप त बाँदरलाई पनि लगाउँदैनौँ : अमेरिका


वासिङ्टन — रुसले हालै दर्ता गरेको कोरोनाविरुद्धको खोप अमेरिकालाई दिएर सहयोग गर्ने प्रस्ताव गरेको छ। तर, अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ।

अमेरिकाले अपरेसन वार्प स्पिड नाम दिएर कोभिड–१९ विरुद्धको खोप विकास गरिरहेको छ। जसमा अनेकौँ एजेन्सी सहभागी छन्।

सो अभियानलाई सघाउने आफूहरुको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको एक रुसी अधिकारीले बताएका छन्।

‘अमेरिकामा रुसप्रति अविश्वास देखिन्छ। तर, हामी हाम्रो प्रविधिमा विश्वास गर्छौँ। त्यही अविश्वासका कारण अमेरिकाले हाम्रो खोप, परीक्षण र उपचारको प्रविधि स्वकार्न सकेन,’ एक रुसी अधिकारीको भनाइ सीएनएनले उधृत गरेको छ।

सीएनएनका अनुसार अमेरिकी अधिकारीहरुले रुसी खोपलाई अधकल्चो भनेका छन्।

‘अमेरिकाले रुसी खोप प्रयोग गर्ने कुनै सम्भावना छैन। मान्छेमा त कुरै छाडौँ, बाँदरलाई पनि हामी लगाउँदैनौँ,’ एक अमेरिकी जनस्वास्थ्य अधिकारीले भनेका छन्।

गत मंगलबार रुसले कोरोनाविरुद्धको विश्वमै पहिलो खोप विकास गरेको घोषणा गरेको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए।

रुसका प्रतिस्पर्धी मुलुकहरुले सो खोपको प्रभावकारिता र सुरक्षामाथि प्रश्न उठाएका छन् भने अन्य कयौँ मुलुकले खोप किन्ने बताएका छन्।

हाल विश्वभर खोप निर्माणका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ। खासगरी चीन, अमेरिका र बेलायत खोप निर्माणको अग्रस्थानमा देखिएका छन्। – सीएनएन


क्याटेगोरी : समाचार, अमेरिका
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस