Techie IT
×
गृहपृष्ठप्रदेश खबरबाग्मती प्रदेशगोंगबु हत्याकाण्डका मृतक दाङका कृष्ण बहादुर बोहोरा भएको पुष्टि

गोंगबु हत्याकाण्डका मृतक दाङका कृष्ण बहादुर बोहोरा भएको पुष्टि


काठमाडौं –  आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ ।

उनी महिला भएको र हत्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले राजधानीसँग भने । प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको हत्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ ।

भान्छाकोठा (किचन)मा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँडामाथिको भाग छिनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । प्रहरीले सोमबार दिउँसो नै बोहोराको हत्या गरिएको घरलाई घेरा हालेर हत्या गरिएको स्थानको मुचुल्कासमेत तयार गरिसकेको छ । प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।

उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए । प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि शवको सनाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटकेसमा प्याक गरेर फालिएको अवस्थामा आइतबार बिहान भेटिएको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस