Techie IT
×
गृहपृष्ठसमाचारआज कृष्ण जन्माष्टमी मनाइँदै ,यसरी भएको थियो भगवान कृष्णको जन्म

आज कृष्ण जन्माष्टमी मनाइँदै ,यसरी भएको थियो भगवान कृष्णको जन्म


काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए ।

त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।

वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #lord krishna

तपाईको प्रतिक्रिया दिनुहोस