Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलबुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय


काठमाडौं –भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भन्ने बारे कुनै शंका नरहेको स्पष्ट गरेको छ । विदेशमन्त्री एस जयशंकरले भगवान बुद्धलाई ‘महान् भारतीय’ भनेको विषय विवादमा आएपछि भारतीय विदेश मन्त्रालयले यस बारेमा स्पष्ट गरेको छ ।

भारतीय विदेश मन्त्रालयले मिडियाले यस बारेमा सोधेको जिज्ञासाको जवाफ भन्दै प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्–‘अगस्त ८ मा भएको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तरक्रियामा बौद्ध सम्पदाको बारेमा कुरा गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने बारेमा कुनै शंका छैन ।’

यसअघि आइतबार नै नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई ’महान् भारतीय’ भनेको विषयमा आफ्नो प्रतिक्रिया दिएको थियो । भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ । परराष्ट्रलाई मिडियाले राखेको जिज्ञासाको जवाफमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा भएको बताएको छ ।

परराष्ट्रले भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’

परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहा जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ । यो कुरा शंका र विवादभन्दा पर रहेको भन्दै परराष्ट्र मन्त्रालयले यो बहसको विषय हुन नसक्ने बताएको छ । साथै सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार रहेको परराष्ट्रले भनेको छ ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस