Techie IT
×
गृहपृष्ठसमाचारमहासंघ दाङले मनायो वन दिवस

महासंघ दाङले मनायो वन दिवस


दाङ – सामुदायिक वन उपभोक्त महासंघ दाङले आज आइतवार एक कार्यक्रम गरि सामुदायिक वन दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वनको मर्म राज्यले बुझ्न नसक्दा स्थानीय उपभोक्ता र सरोकार निकाय बीच बारम्बार समस्या आउने गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष भीम प्रकाश खड्काले बताए ।

समृद्धिका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान भन्ने मुल नाराका साथ आज घोराहीमा सामुदायिक वन दिवस मनाइएको हो ।उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले अबका दिनमा स्थानीय सरकारसँगको समन्वयमा सामुदायिक वनका हरेक गतिविधि संचालन गरेर जानु पर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष तथा वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीले वातावरण संरक्षणका क्षेत्रमा घोराही उपमहानगरले गर्दै आएको काममा सामुदायिक वनले सहकार्य गर्नुपर्ने बताए ।

यस्तै, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य सावित्रा रानाले सामुदायिक वनले वन पैदावारको सरंक्षण गर्दै वातावरणीय सन्तुलनमा उल्लेख्य प्रगति हासिल गरेको बताइन ।

यस्तै, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले वनको सरंक्षण गर्नु निकै चुनौतिपूर्ण रहेको बताउदै खुला क्षेत्र हुने हुँदा साझा सम्पत्तिलाई जोगाउन नागरिक सचेतना आवश्यक रहेको टिप्पणी गरे ।

यसैबीच, सामुदायिक वन दिवसको अवसरमा कार्यालय परिसरमा आँप, रुद्राक्ष, कागतीलगायतका विरुवा पनि रोपिएको थियो । सिन्धुपाल्चोकको ठोकर्पा गाउँको वनलाई व्यवस्थापन गर्न स्थानीय समुदायलाई हस्तान्तरण गरेको दिनको सम्झनामा हरेक वर्ष साउन २५ गते दिवस मनाउने गरिएको छ ।

दाङ जिल्लामा अहिले ५ सय ३० भन्दा बढी सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष भुपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम महासंघका कोषाध्यक्ष कमलराज पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गरेकी थिइन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस