Techie IT
×
गृहपृष्ठसमाचारविश्वविद्यालयका विद्यार्थी भन्छन् :भदौमा परीक्षा दिन सक्दैनौं

विश्वविद्यालयका विद्यार्थी भन्छन् :भदौमा परीक्षा दिन सक्दैनौं

त्रिवि भन्छ :विद्यार्थी परीक्षाका लागि तयार रहनुपर्छ ।


काठमाडौं – २१ वर्षीय प्रतीक कदरिया लकडाउन घोषणा हुने बित्तिकै रातारात आफ्नो घर झापा गए। काठमाडौंमा कलेज पढ्न आएका उनी डेरामा बस्थे। सूचना प्रविधि विषयमा स्नातक गरिरहेका थिए।

लकडाउनमा केही समय पढाइ बन्द हुने भएकाले उनले त्यतिन्जेल घरै बस्ने विचार गरेर गएका थिए। लकडाउन लम्बिएको दुई महिना भइसक्दा पनि पठनपाठन पुनः सुरू हुने स्थिति देखिएन। बरू अनलाइन कक्षा हुने कुरा अघि बढिरह्यो।

केही हप्ताका लागि मात्र लकडाउन हुने सोचमा किताबकापी नलिई घर गएका प्रतीकलाई चिन्ता पर्न थालेको थियो। अनलाइन कक्षा पढ्न न बत्तीको भर थियो, न मोबाइलमा पैसा हालेर पढ्न सक्ने अवस्था। तै पनि जसोतसो मिलाएर उनी कक्षामा उपस्थित भइरहे।

उनको चिन्ता अझ बढ्यो जब केही दिनअघि विश्वविद्यालयहरूले लकडाउनका कारण रोकिएका सबै परीक्षा भदौमा गर्ने भने।

अनलाइन कक्षा प्रभावकारी नभएको र आवश्यक पाठ्यसामग्री अभावमा परीक्षा हुने विषय उनका लागि चिन्ताजनक बनेको छ।

‘पहिले परीक्षा हुने वा नहुने बारे केही सूचित नगराई कलेजले अर्को सेमेष्टरको पढाइ सुरू गर्‍यो। अब भने एकाएक तीन हप्तापछि परीक्षा हुनसक्ने भनिएको छ,’ प्रतीकले सेतोपाटीसँग भने, ‘हामीसँग पढ्न किताब वा कुनै पाठ्यसामग्री छैन। अनलाइनमा पढेको भरमा मात्र परीक्षा दिन सक्दैनौं। अचानक विश्वविद्यालयले सार्वजनिक गरेको यो निर्णयले धेरै विद्यार्थीलाई तनाव भएको छ।’

उनी परीक्षा रद्द गर्नुपर्ने पक्षमा छैनन्। तर कोरोना जोखिम दिनप्रतिदिन बढिरहेको समयमा विश्वविद्यालयहरूले विद्यार्थीको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाउँछन्।

‘विश्वविद्यालयले उपयुक्त सुरक्षा उपायहरू अपनाउँछ भने हामी परीक्षा दिन तयार छौं। तर यहाँ अवस्था उल्टो छ,’ उनी भन्छन्, ‘उपत्यका बाहिर रहेका हामी जस्ता विद्यार्थी परीक्षाका लागि फर्कन सक्ने वातावरण छैन। विश्वविद्यालयले भने जसरी भए पनि परीक्षा दिनैपर्ने अवस्था सिर्जना गरेको छ। विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षालाई बढी प्राथमिकता दिइरहेको छ।’

गत चैतदेखि स्थगित परीक्षा भदौ १ गतेबाट सञ्चालन गर्न सक्ने गरी सरकारले अनुमति दिएको छ। योसँगै विश्वविद्यालयहरू परीक्षाको तयारीमा लागेका छन् जसले कयौं विद्यार्थीलाई तनावग्रस्त र आक्रोशित बनाएको छ। विद्यार्थीको तत्कालीन अवस्था र स्रोतसाधनको पहुँच बारे ध्यानाकर्षण नगरी अन्तिम समयमा परीक्षा लिने निर्णय उचित नभएको उनीहरू बताउँछन्।

मानविकी दोस्रो वर्षमा स्नातक गरिरहेका योहन लामाको तनाव यही छ। काठमाडौंमा डेरामा बस्दै आएका उनी लकडाउनमै पारिवारिक समस्याले आफ्नो घर धादिङ जानु पर्‍यो। यता कलेजले अनलाइन कक्षा सञ्चालन गरिरहँदा उनी पढ्न वञ्चित भइरहेका थिए। अब अचानक विश्वविद्यालयले परीक्षा लिने निर्णय गर्दा योहन आफ्नो भविष्य बारे दोधारमा परेका छन्।

‘अनलाइन कक्षामा आउन नसक्दा कलेजले दबाव दिइरह्यो। गाउँबाट अनलाइन पढ्न मिल्ने केही उपाय थिएन। अस्ति मात्र काठमाडौं फर्कन पाएँ र आउने बित्तिकै परीक्षा हुने सूचना पाउँदा आफैं अलमलमा परेको छु,’ उनी भन्छन्, ‘तीन हप्तामा तीन महिनाको पढाइ सक्नुपर्ने तनाव थपिएको छ। उता कलेजमा हाजिरी नपुग्ने चिन्ता छ र यस्तो समयमा भौतिक रुपमा परीक्षा दिनुपर्ने कुराले परिवारमा पनि छट्पटी भएको छ।’

लकडाउन समयमा अधिकांश विद्यार्थी उपत्यकाबाहिर गएका छन्। अहिलेको स्थितिमा फर्कन सक्ने उपयुक्त वातावरण छैन। कोरोना जोखिम कम नभई वा उपत्यका बाहिर रहेकालाई आवातजावतको सुरक्षित प्रबन्ध नभई तत्काल परीक्षा लिन सक्ने वातावरण नभएको विद्यार्थीहरू बताउँछन्।

यी समस्याबारे छलफल गर्न विद्यार्थी समूहले त्रिवि पदाधिकारीहरू, उपकुलपति, शिक्षाध्यक्ष र डिनलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले रोकिएको परीक्षा कि त अलि पछि सार्नू पर्ने, नभए आन्तरिक मूल्यांकनलाई आधार बनाएर स्तरोन्नति गरी उपल्लो सेमेष्टरको पठनपाठन सुरू गर्न माग गरेका थिए। तर सम्बन्धित निकायले यसमा ध्यान नदिइरहेको विद्यार्थीहरूको गुनासो छ।

त्रिवि अन्तर्गतका केही प्रतिनिधि विद्यार्थीले डिन कार्यालयअघि उपस्थिति पनि जनाएका थिए। भू-विज्ञान दोस्रो सेमेष्टर अध्ययनरत स्नातकोत्तरका विद्यार्थी पवन आचार्यका अनुसारपदाधिकारीले विद्यार्थीको आन्तरिक परीक्षा मूल्यांकन गरी अर्को सेमेष्टरका लागि तयारी गर्ने माग अस्वीकार गरे। विद्यार्थीलाई ‘लकडाउनको लामो समयमा किन नपढेको’ भनेर प्रश्न गरिएको उनले बताए।

‘पछिल्लो दुई महिना दोस्रो सेमेष्टरको अन्तिम परीक्षा नसकिएका विद्यार्थीको हकमा तेस्रो सेमेष्टरको पठनपाठन सुरू गर्न त्रिविले केही निर्णय गर्न सकेन, जसले गर्दा हाम्रो पढाइ ६ महिना पछाडि धकेलिएको छ,’ पवन भन्छन्, ‘परीक्षा नदिई अर्को सेमेष्टर पढ्न नपाउने गरी खडा गरिएको यो परिस्थितिले विद्यार्थीलाई नोक्सान पर्ने देखिन्छ।’

उनले थपे, ‘सेमेष्टर प्रणालीमा लिखित परीक्षामा चालिस प्रतिशत र प्रयोगात्मकमा सय प्रतिशत आन्तरिक मूल्यांकनलाई मान्यता दिने प्रावधान छ। लिखित परीक्षाले मात्र विद्यार्थीको सही मूल्यांकन नहुने हाम्रो भनाइ हो। तर हामीले एसइई जस्तै परिणाम खोजेको आरोप आएको छ।’

पवनका अनुसार लिखित परीक्षा नलिई ‘ओपन बुक’ परीक्षा वा ‘भाइभा’ लिएर विद्यार्थीको मूल्याकंन गर्न सकिने थुप्रै उपाय छन्। विद्यार्थीलाई तोकिएकै समयमा परीक्षा दिनु पर्ने बाध्यताले अप्ठ्यारो पारेको उनी बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसाल भने परीक्षा हुने निर्णय गरे पनि परिस्थिति हरेर मात्र परीक्षा सञ्चालन हुने बताउँछन्।

‘हामीले विद्यार्थीलाई परीक्षाका लागि तयारी गरिरहन भनेर मात्र सूचित गराउन खोजेका हौं। परीक्षाको तालिका सार्वजनिक गरिसकेका छैनौँ,’ भुसालले भने, ‘यदि स्थिति सुध्रिँदै गए परीक्षा लिने छौं नत्र स्थगित पनि हुन सक्छ।’

उनले थपे, ‘परीक्षा नभए हामीसँग वैकल्पिक उपाय छैन। आन्तरिक मूल्यांकन गर्न नखोजेको पनि होइन। तर केही विद्यार्थीले यसमा सहमति देखाएनन्।’

अवस्था सामान्य भए दसैंअघि भौतिक दुरी अपनाएर परीक्षा लिने उनले बताए।

‘यसबारे अन्य कुनै विकल्प निकाल्न सकिने विषयमा छलफल भइरहेको छ। र पनि विद्यार्थी परीक्षाका लागि तयारी अवस्थामा रहन जरुरी छ,’ उनले भने।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस