Techie IT
×
गृहपृष्ठसमाचारनेपालमा भारतीय समाचारमूलक टिभी च्यानल किन रोकियो

नेपालमा भारतीय समाचारमूलक टिभी च्यानल किन रोकियो


काठमाडौं – नेपालबारे जथाभाबी प्रचारबाजी गरेको भन्दै नेपालका एक दर्जन टिभी सेवा प्रदायकहरूले भारतीय समाचार च्यानलहरूको प्रसारण रोकेका छन्।

आधिकारिक निर्णय नगरेको भए पनि स्वतःस्फूर्त रूपमा अधिकांश भारतीय समाचार च्यानल प्रसारण गर्न बन्द गरेको उनीहरूले बताएका छन्।

पछिल्लो समयमा एउटा भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर तयार पारेको समाचारले आफूहरूलाई त्यस्तो कदम उठाउन बाध्य पारेको सेवा प्रदायकहरूको भनाइ छ।

तर ती च्यानलहरूको प्रसारणमा लगाइएको रोक कहिलेसम्म लागु हुने हो भन्ने प्रस्ट छैन।

दिल्लीस्थित नेपाली राजदूतावासले औपचारिक रूपमै भारत सरकारसमक्ष विरोध जनाएको परराष्ट्र स्रोतले बताएको छ।

बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री युवराज खतिवडाले सरकारले कानुनी तथा कूटनीतिक ढङ्गबाट यो विषय उठाउने अवस्था आउन सक्ने बताएका थिए।

बिहीवारै नेकपाका कतिपय नेताहरूले सामाजिक सञ्जालमा भारतीय मिडियाको आलोचना गरेका थिए।

युवराज खतिवडा
बिहीवार सञ्चारमन्त्री युवराज खतिवडाले सरकारले कानुनी तथा कूटनीतिक ढङ्गबाट भारतीय टिभी सामग्रीको बारेमा उठाउने बताएका थिए

प्रसारण रोक्नुका कारण

नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल-भारत सम्बन्धमा देखिएको चिसोपनका बीच भारतीय सञ्चार माध्यमहरूमा नेपाल जोडिएका समाचार सामग्री तयार पार्न थालेको र तीमध्ये केही आपत्तिजनक रहेको व्यवासायीहरू बताउँछन्।

डीटीएच सेवा प्रदायक डीसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले भन्छन्, “भारतीय समाचार च्यानलमा नेपालबारे प्रसारण गरिएका सामग्रीमा ग्राहकहरूले नै आपत्ति जनाएपछि प्रसारण रोक्ने सहमति गरेका हौँ।”

उनका अनुसार मनोमानी ढङ्गबाट तयार पारिएका सामग्रीबारे प्रदायकहरूले साङ्केतिक रूपमा विरोध जनाएका हुन्।

“अब यसलाई सरकारले कसरी लिन्छ हेर्छौँ,” उनले भने।

मेरोटिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरे पछिल्लो दुई-तीन महिनादेखि ग्राहकहरूबाट गुनासो आएको बताउँछन्।

“हाम्रो कार्यालयहरूमा तोडफोड नहोलान् भन्ने स्थिति रहेन,” घिमिरेले भने।

टिभी

कहिलेसम्म बन्द?

सरकारले कूटनीतिक पहल थाल्ने बताइसकेको अवस्थामा त्यसले निकास दिने आशामा रहेको घिमिरे बताउँछन्।

“हामीले कहिलेसम्म भारतीय समाचार च्यानल बन्द गर्ने तय गरेका छैनौँ। सधैँ त पक्कै बन्द गर्न सकिँदैन। सरकारी पहलबाट निकास आउला।”

नेपालबाटै प्रसारण हुने च्यानलहरूले ‘अपाच्य सामाग्री’ प्रसारण गरे आफूहरूले त्यसमा पनि रोक लगाउनुपर्ने घिमिरेको भनाइ छ।

अर्को सेवा प्रदायक तथा म्याक्स टिभीका अध्यक्ष दिनेश सुवेदी यस विषयमा शुक्रवार दिउँसो सेवा प्रदायकहरूबीच छलफल हुन तय भएको बताउँछन्।

सुवेदीले भने, “हामी यस विषयमा सरकारसँग पनि छलफल गर्छौँ र त्यसका आधारमा आवश्यक निर्णयमा पुग्छौँ।”

नेपाल-भारत

भारतसमक्ष विरोध

भारतीय च्यानलका सामग्रीको सम्बन्धमा नेपालले भारतीय विदेश मन्त्रालयसमक्ष विरोध जनाइसकेको बताइएको छ।

भारतीय समाचारमूलक टिभी च्यानलहरूमा नेपालबारे आपत्तिजनक सामग्री प्रसारण भएको भन्दै दिल्लीस्थित नेपाली राजदूतावासले ‘औपचारिक रूपमै विरोध जनाएको’ परराष्ट्रका एक अधिकारीले बताएका छन्।

ती अधिकारीका अनुसार त्यस्ता सामग्रीले दुई देशको सम्बन्धमा प्रभाव पार्ने र जनस्तरमा घृणा फैलाउने कार्य गरेको दूतावासले भारतीय विदेश मन्त्रालयलाई बताएको छ।

“हामीले यस विषयमा औपचारिक तथा अनौपचारिक दुवै स्तरमा कुरा उठाएका छौँ,” ती अधिकारीले बीबीसीलाई भने।

“उनीहरूले पनि यस विषयलाई गम्भीर रूपमा लिएको र यो विषय आपत्तिजनक छ भन्ने धारणा रहेको बताएका छन्।”

भारतीय पत्रिका द हिन्दुले पनि स्रोतको हवाला दिँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बिहीवार नै उक्त विषयमा विरोध जनाएको उल्लेख गरेको छ।

नक्सा
नेपाल र भारतले विवादित नक्सा जारी गरेका छन्

रोक लगाउनु ठीक हो?

सेवा प्रदायकहरूले स्वतःस्फूर्त रूपमा भारतीय समाचार च्यानल प्रसारणमा रोक लगाएको बताए पनि सरकारको मौन समर्थन देखिएको जानकारहरूको दाबी छ।

वाक् स्वतन्त्रताबारे वकालत गर्ने फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल सरकारले कुनै पनि सञ्चारमाध्यमको निर्बाध पहुँच स्थापित गर्नुपर्ने भए पनि प्रदायकहरूको कार्यको विरोध नगरेको बताउँछन्।

दाहाल भन्छन्, “यसले अनौपचारिक ढङ्गले सरकारले नै उचाले जस्तो देखाउँछ।”

उनका अनुसार सरकारले चाहेको खण्डमा निश्चित सामग्रीका विषयमा कानुनी वा कूटनीतिक समाधान खोज्न मिल्छ।

“तर प्रदायकले आफूखुसी के देखाउने वा के नदेखाउने भन्ने कुरा तय गर्न पाउँदैनन्। सञ्चारमाध्यमको सामग्री ‘क्यारियर’ले रोक्न पाउने अवस्था स्थापित हुनु हुँदैन।”

भारतीय च्यानललाई प्रभाव पर्ला?

जानकारहरूका अनुसार भारतीय टेलिभिजन च्यानल हेरेबापत नेपालबाट वार्षिक एक अर्बभन्दा बढी रकम बाहिरिन्छ।

तर नेपालमा बन्द हुँदा भारतीय च्यानलहरूको कमाइमा भने प्रभाव नपर्ने घिमिरे बताउँछन्।

“भारतीय च्यानलहरू टीआरपी उन्मुख देखिन्छन्। यसमा भने पक्कै प्रभाव पर्नेछ,” उनले भने।

त्यस्तै भारतीय च्यानलहरू नेपालले किन्दा प्याकेजमा आधारित भएर सहमति हुने हुँदा कानुनी समस्या नरहने सुवेदी बताउँछन्।

उनका अनुसार नेपालमा प्रसारण हुने भारतीय समाचार च्यानलमध्ये जी, एबीपी न्यूज र आजतक पैसा तिरेर खरिद गरिएका हुन्।

त्यसबाहेक अरू सबै समाचार च्यानलहरू नि:शुल्क रहेको सुवेदीको भनाइ छ।

“पे च्यानल दिँदैन भनियो भने पनि हामीलाई समस्या छैन। हामी व्यवसायी भए पनि जिम्मेवार नागरिक पनि हौँ,” उनले थपे।

प्रदायकहरूका अनुसार नेपालमा टेलिभिजन हेर्ने करिब ६८ प्रतिशत सर्वसाधारणहरूले उनीहरूको सेवा लिएका छन्।

अन्य १५ प्रतिशतसँग भारतीय प्रदायकहरूको डीटीएचमा पहुँच रहेको अनुमान व्यवसायीहरूको छ। – बीबीसी न्यूज नेपाली


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस