Techie IT
×
गृहपृष्ठसमाचारअष्ट्रेलियामा फसेका नेपालीलाई काठमाडौं जान सेमिचार्टर्ड उडान हुदै

अष्ट्रेलियामा फसेका नेपालीलाई काठमाडौं जान सेमिचार्टर्ड उडान हुदै


अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको संयोजन तथा नेपाली राजदूतावास क्यानबेराको पहलमा आगामी १४ जुलाईका दिन नेपाल फर्किन चाहनेका लागि सेमिचार्टर्ड उडान हुने भएकाे छ।

अष्ट्रेलियामा फसेका तथा फर्कन अत्यन्तै जरुरी परेका नेपालीको लागि गरिएको यो सेमिचार्टर्ड उडान सिंगापुर एयरलाइन्सको रहनेछ।सिड्नीबाट नियमित उडान मार्फत सिंगापुरसम्म जाने र त्यहाँबाट विमान चार्टर्ड भई काठमाडौं लाने तयारी गरिएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।यस उडानमार्फत नेपाल जान चाहने यात्रुका लागि अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडादर ११ सय ५१ अमेरिकी डलर तोकिएको छ जसको अष्ट्रेलियन डलर भने १७ सय पचास रहनेछ।

कोरोनाका कारण अष्ट्रेलियाली सरकारको मापदण्ड बमोजिम अहिले मेलबर्न, ब्रिसबेन र सिड्नीबाट मात्र सिंगापुर उडान भर्न सकिने हुनाले यी तीनै शहरलाई केन्द्र बनाएर यस्तो ब्यवस्था गरिएको हो।यस पटकको उडान सेमिचार्टड भएकोले सिड्नी–सिंगापुर उडानपछि यात्रुहरुले केहि घन्टा सिंगापुरमा अर्को विमानका लागि कुर्नु पर्ने हुन्छ।

यी सबै कार्य विश्व स्वास्थ्य संगठन र सिंगापुर सरकारले तोकेको मापदण्डभित्र हुनेछ। पारदर्शी रुपमा, सुरक्षित र सस्तो यात्राका लागि विभिन्न ट्राभल एजेन्सीसँगको सहकार्यमा यो योजनालाई मूर्तरुप दिन लागिएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कडेंलले बताए।अष्ट्रेलियामा सञ्चालित ट्राभल एजेन्सीमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स, काठमाडौं ट्राभल्स, हिमालयन ट्राभल पार्टनर सिड्नी, दा भिन्ची ट्राभल्स काठमाडौं र सुमेग ट्राभल्स काठमाडौं छन् ।

नेपाल जान चाहने यात्रुहरुले अनिवार्य रुपमा पहिलेकै चार्टर्ड विमानझैं पिसिआर परीक्षण गराउनुपर्ने छ भने नेपालमा गएर पनि क्वारेन्टाइनमा बस्ने कुरामा सहमति गर्नु पर्ने छ।अष्ट्रेलियामा समस्यामा परेका नेपालीलाई देश फर्कन यसअघि राजदूतावासले गरेको आह्वानमा नाम टिपाएकाहरु पहिलो प्राथमिकताको सूचीमा पर्ने एनआरएन अष्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले बताए।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले समूदायको भावना र आपतविपतमा परेकाहरुका लागि नेपाल फर्कन यो पहल गरिएको बताए।‘एनआरएन र नेपाली समुदायका प्रतिनिधिको सहभागितामा एउटा समिति बनाएर यसका लागि पहलकदमी गरेका थियौँ’ उनले भने ‘यस उडानको अनुमतिका लागि नेपाली दूतावासले सरकारलाई पत्राचार गरिसकेको छ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस