Techie IT
×
गृहपृष्ठसमाचारदुर्गेशको तीज गीत ‘बीच्च बीच्चमा २’ सार्वजनिक

दुर्गेशको तीज गीत ‘बीच्च बीच्चमा २’ सार्वजनिक


काठमाडौं – गत वर्षको तीजमा गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले ब‍ीच्च बीच्चमा २ सार्वजनिक गरेका छन्।

‘एउटा फोटो खिच्’ बोलको उक्त गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो।

गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटिएको छ। लकडाउनका कारण व्यवसायिक क्षेत्रमा पारेको असर, आर्थिक समस्या र यसले निम्त्याएको समस्याका कारण यस पटकको तीज ‘खेल जस्तै’ हुने संकेत गरेका छन्।

यो बाहेक कोरोना भाइरस फैलावट नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदमहरु माथि गीतले व्यङ्ग्य हानेको छ।

जनता लकडाउनकै कारण भोकमरी खपिरहे पनि सरकारको तर्फबाट निकै सुस्त काम भएको भन्ने भाव गीतले दिएको छ। गीतमा दुर्गेशको आफ्नै स्वर र संगीत छ। शब्दमा भने उनलाई राम खत्री र राजन कार्कीले सघाएका छन्।

गीतको निर्देशन शिव विकले गरेका छन् भने अर्जुन तिवारी र टोलीको छायांकन छ। भिडिओमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकार छन्।

गत वर्ष दुर्गेश ‘ह्यापी तिहार’ बोलको तिहार गीतका कारण पक्राउ परेका थिए। लागू औषध प्रयोगलाई प्रवर्धन गरेको र देउसी भैलोको गीतलाई बिगारेको उजुरीपछि उनी पक्राउ परेका थिए। उनको उक्त गीत केही समयका लागि युट्युबबाट हटाइएको थियो।

पछि गीतमा केही परिमार्जनपछि पुनः सार्वजनिक गरिएको थियो। पछिल्लो समय युवा पुस्ता माझ दुर्गेशका गीत निकै रुचाइएको पाइन्छ। तीज नजिकिदै गर्दा उनको ‘एउटा फोटो खिच्’ गीतले पनि चर्चा कमाउन थालेको छ।

दुर्गेशले यो गीत ल्याउनुको कारण दर्शकको माया, साथ र सुझाव भएको बताएका छन्। गीत सार्वजनिक भएको २४ घण्टा नबित्तै यसले ४ लाख बढी भ्यूज कमाइसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #durgesh thapa

तपाईको प्रतिक्रिया दिनुहोस