Techie IT
×
गृहपृष्ठसमाचारमहेश बस्नेतनिकट युवा रहेका नेकपा एमालेको उद्देश्य- ‘पूर्व एमालेजतिलाई एक ठाउँमा ल्याउने’

महेश बस्नेतनिकट युवा रहेका नेकपा एमालेको उद्देश्य- ‘पूर्व एमालेजतिलाई एक ठाउँमा ल्याउने’


काठमाडौं – नेकपाको स्थायी कमिटि वैठक चल्दाचल्दै विवादको नयाँ फेरामा देखिएको ‘नेकपा (एमाले)’मा संलग्न अनुहारहरु प्रधानमन्त्री केपी ओली निकट युवा नेता महेश बस्नेतसँग सम्बन्ध रहेका पाइए। नेकपा एमाले नयाँ दलका रुपमा अहिले निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ। दल दर्ताका लागि यही असार १४ गते निवेदन परेका थियो।

प्रस्तावित दलकी उपाध्यक्ष भनेर दल दर्ता निवेदनमा उल्लेख भगवती खड्का र अस्मिता सुनार दुवै खेलकुदसँग सम्बन्धित छन्। उनीहरू महिला रेस्लिङ खेलाडी हुन्। सुनार प्रस्तावित पार्टीमा प्रदेश १ सचिव हुन्।

दुवै जनाको नेता बस्नेतसँग व्यक्तिगत स्तरको सम्बन्ध रहेको देखिने तस्वीर सामाजिक सन्जालमै भेटिन्छन्। दुवै जनाले बस्नेतसँग दशैंको टिका लगाएको तस्वीर उनीहरुको फेसवुक एकाउन्टमा देखिन्छ।

विनिता कार्की

‘हामी पूर्व एमालेका कार्यकर्ता मिलेर मदन भण्डारी जयन्तीको अवसर पारी पुरानो पार्टी पुनजिर्वित गर्न नयाँ दल गठन गरेका हौं,’ उपाध्यक्ष खड्काले भनिन्।

खड्का आफू महिला रेस्लिङ फाउन्डेसनको अध्यक्ष तथा प्रमुख प्रशिक्षकसमेत रहेको बताइन। यो संस्था कुनै दलसँग सम्बन्धित नभएको उनको भनाइ छ।

‘हामी पूर्व एमालेमा हुँदा युवा संघमा रहेका बखत स्वभाविक रुपमा पार्टीका नेता महेश बस्नेतलगायत सँग भेट्घाट हुन्थ्यो,’ उनले भनिन्, ‘तर उहाँहरुसँग परामर्श गरेर पार्टी खोलेको होइन। हाम्रो पार्टीको उद्देश्य पूर्व एमालेहरुलाई एकजुट गराउँदै लाने हो। जो आए पनि स्वागत गर्न तयार छौं।’

खड्काले प्रस्तावित पार्टीको अध्यक्ष रहेकी सन्ध्या तिवारी अहिले काठमाडौंमा रहेकोसमेत जानकारी दिइन।

प्रस्तावित नेकपा एमालेकी केन्द्रीय सदस्य विनिता कार्की भक्तपुर चाँगुनारायण–८ की हुन्।

उनी भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतनिकट रहेर ठेक्कापट्टामा संलग्न राजेश खड्काकी श्रीमती हुन्। उनको माइती चाँगुनारायण–५ हो।

उनका पति खड्का नेकपाकै वडाध्यक्ष परासर सापकोटामाथि कुटपिट काण्डमा मुछिएका थिए। उनलाई बस्नेत समूहले संरक्षण गर्दै आइरहेको छ।

यस्तै, प्रस्तावित एमालेका बागमती प्रदेशका सचिव जयराम राउत पनि प्रधानमन्त्री ओली र बस्नेतसँग निकट देखिएका छन्।

उनी, बस्नेत र प्रधानमन्त्री ओलीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

यो पार्टीकी केन्द्रीय अध्यक्ष सन्ध्या तिवारी विराटनगर–६ स्थायी ठेगाना भएकी हुन्। उनी अहिले विर्तामोडमा बस्ने गरेको भनिए पनि विस्तृतमा खुलेको छैन।

यस्तै, केन्द्रीय सदस्य पवन विष्ट नागार्जुन–१० का रहेको थाहा भएको छ। उनका काका चिनियाँकाजी विष्ट सो वडाका सदस्य हुन्। उनी तत्कालीन एमालेबाट निर्वाचित भएका हुन्।

पवन विष्ट

विष्टले आयोमेलसँगको संवादमा आफू पुरानो एमाले कार्यकर्ता रहेको बताए।

‘पुरानो पार्टी (एमाले)त रहेन, अहिले नेकपा भएको पार्टी फुटिहाले पनि एमाले पार्टी त रहन्छ भनेर हामीले नयाँ दल खोल्ने निधो गरेर निर्वाचन आयोगमा निवेदन दियौं,’ विष्टले भने।

आफ्नो पुरानो सिद्धान्त भएको पार्टी अस्तित्वमा नरहेकाले जीवन्तता दिन पार्टी दर्ता प्रक्रिया थालेको उनले बताए।

मंगलबारको स्थायी समिति बैठकमा नेता वामदेव गौतमले ओलीले एमाले ब्यूँताउन लागेको र सो पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेको बताएका थिए।

दल दर्ता गराउन पुगेकाहरू पूर्वएमालेका नेता(कार्यकर्ता, प्रधानमन्त्री तथा नेता बस्नेतसँग निकट देखिनुले कतै ओलीकै योजनामा एमाले दर्ता हुन लागेको त हैन भन्ने संशय उत्पन्न भएको छ।  -जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस