Techie IT
×
गृहपृष्ठसमाचारनेपालको जनसंख्या तीन करोड नाघ्यो

नेपालको जनसंख्या तीन करोड नाघ्यो


काठमाडौँ – शुक्रबारदेखि औपचारिक रुपमा नेपालको जनसंख्या तीन करोड नाघेको छ।

केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो।

अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै निर्देशक लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ। त्यसै अनुसार देशको जनसंख्या शुक्रबारबाट तीन करोड नाघेको छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ।

अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको विभागले जनाएको छ।

हरेक दश वर्षमा राष्ट्रिय जनगणना

१९६८ सालदेखि नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। विभागले आउँदो वर्ष १२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ।

घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ। जसमध्ये १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला हुनेछन् भने १ करोड ४७ लाख ३४ हजार २ सय १ जना पुरुष रहने विभागले जनाएको छ।

०६८ को तथ्यांकमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो। जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् भने ४८ दशमलव ५ प्रतिशत पुरुष छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ।

त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको तथ्यांकले देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोलिन्छ। – जीएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस