Techie IT
×
गृहपृष्ठसमाचारडा. केसीद्वारा नागरिकले उठाएका जायज मागहरू सम्बोधन गर्न ध्यानाकर्षण

डा. केसीद्वारा नागरिकले उठाएका जायज मागहरू सम्बोधन गर्न ध्यानाकर्षण


काठमाडौं  – प्रा.डा. गोविन्द केसीले कोरोना प्रकोपबाट उत्पन्न गम्भीर परिस्थिति झेलिरहेका नागरिकले उठाएका जायज मागहरूका सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

हुम्लाको ताजाकोटमा रहेका प्रा.डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै युवाहरूले सडकबाट उठाएका सवालहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनमा उत्रिएका युवाहरूमाथि धम्की र धरपकड सामान्य भइसकेको बताउँदै केसीले सरकारको यस्तो अलोकतान्त्रिक काम स्वीकार्य नरहेको उल्लेख गरेका छन्।

‘सत्तामा र त्यस वरपर हुनेहरुले उनीहरुका जायज मागहरूका सुनुवाइ गर्नको सट्टा आफ्नो कमजोरी ढाकछोप गर्न प्रदर्शनकारीहरुलाई नै बदनाम गर्ने प्रयास गर्दै आएका छन्,’ केसीको भनाइ छ।

सरकार पक्षले आफ्नो कमजोरी ढाकछोप गर्न प्रदर्शनकारीहरूलाई नै बदनाम गर्ने प्रयास गर्दै आएका टिप्पणी गर्दै कोरोनाको विषम् अवस्थामा नागरिकहरूले बारम्बार सरकारलाई झक्झक्याउँदै गम्भीर हुन आग्रह गरिरहेको उल्लेख गरेका छन्।

‘पछिल्लो समय सरकारको नालायकी अचाक्ली बढेसँगै युवाहरुले सत्याग्रहका कार्यक्रम सुरू गरेका छन्, प्रदर्शनको यो विधिले विभिन्न राजनीतिक पार्टीहरूले विगतदेखि गर्दै आएको तोडफोड र हिंसासहितको आन्दोलनको विधिलाई चुनौती दिने तथा शान्तिपूर्ण रुपमै मागहरु पूरा गर्न सरकारलाई बाध्य पार्ने विश्वास हामीले लिएका छौं,’ केसीले भनेका छन्।

सत्याग्रहरत युवालाई यसबीच प्रहरीले पक्रेर छाडेबाट शान्तिपुर्ण आन्दोलनसित सरकार त्रस्त भएको प्रा.डा. केसीको विश्लेषण छ। ‘तर, नागरिकप्रति उत्तरदायी भएर उनीहरूको ज्यान बचाउ भन्ने माग पूरा गर्न सरकार अझै गम्भीर भएको देखिँदैन, लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो कुरा अर्को हुन सक्दैन,’ केसीले भनेका छन्।

नेपालमा कोभिड–१९ व्यवस्थापनमा भइरहेको भाँडभैलो र भ्रष्टाचारको विरोधमा लामो समयदेखि आवाज उठाइरहेका बताउँदै केसीले सिंगो देशको स्वास्थ्य सेवा महामारीका कारण अस्तव्यस्त हुँदा तथा देशको अर्थतन्त्र तहसनहस हुँदा नागरिकलाई राहत दिनको सट्टा सत्तामा हुने मानिसहरू अनियमितता र भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पण गरेका छन्।

महामारीको जोखिम झनै गहिरिइरहेको बेला अहिले पनि सरकारको ध्यान नागरिकको ज्यान जोगाउने कुरामा केन्द्रित हुन नसकेको उनको भनाइ छ।

‘कोरोनाको परीक्षण क्षमता आवश्यकताअनुसार बढ्न सकेको छैन भने अरु रोगका बिरामीसमेत उपचार नपाएर धमाधम मृत्युवरण गरिरहेका छन्,’ प्रा.डा. केसीले भनेका छन्।

राज्यले आफ्नो आधारभूत जिम्मेवारी पूरा गर्दै नागरिकको ज्यान बचाओस् भन्ने जायज माग रहेको बताउँदै केसीले उक्त आन्दोलनमा पूर्ण समर्थन तथा ऐक्यवद्धता भएको पनि जानकारी गराउँदै तत्काल सत्याग्रही युवाहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस