Techie IT
×
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीसहित दाङमा थपिए ७५ संक्रमित, मृत्युपछि महिलामा कोरोना पुष्टि

स्वास्थ्यकर्मीसहित दाङमा थपिए ७५ संक्रमित, मृत्युपछि महिलामा कोरोना पुष्टि


दाङ – दाङमा शुक्रबार एक चिकित्सक र दुई अहेवसहित ७५ जना नयाँ संक्रमित फेला परेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अर्घाखाँचीका एक चिकित्सक र थप दुई अहेबमा संक्रमण फेला परेको प्रतिष्ठानका कायमुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए। उनीहरु २१, ३० र ३१ वर्षका छन्।

यसअघि प्रतिष्ठानमा कार्यरत थप एक चिकित्सक, दुई नर्स र अर्का एक अहेवमा संक्रमण देखिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीमा उपचार गर्न आउने विरामी तथा संक्रमितबाट संक्रमण फैलिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।

योसंगै जिल्लामा दुई चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ। जसमा घोराही उपमहानगरपालिकाका ५, गढवाका गाउँपालिकाका २, राजपुर गाउँपालिका १, बंगलाचुली गाउँपालिकामा १ र प्रतिष्ठानका ७ जनामा संक्रमण देखिएको हो।

जिल्लामा ३ वडाध्यक्ष र एक सदस्य गरी ४ जनप्रतिनिधि समेत संक्रमित छन्।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकामा १३ जना, घोराही उपमहानगरपालिकामा ३१ जना, लमही नगरपालिकामा ३ जना, राजपुर गाउँपालिकाकामा १० जना, बंगलाचुली गाउँपालिकामा १० जना, शान्तिनगर गाउँपालिकामा ४ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र १ मृतक महिलामा संक्रमण देखिएको हो।

यो संगै दाङमा कुल संक्रमितको संख्या ४ सय ५५ पुगेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार गरिएको पिसिआर परीक्षणको क्रममा प्यूठान जिल्लामा थप १९ जना संक्रमित फेला परेका छन्।

दाङमा एक महिलाको मृत्युपछि संक्रमण पुष्टि

दाङमा सडकमा मागेर हिँड्ने एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको दुई दिनपछि उनलाई कोरोना पुष्टि भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण रिपोर्टको नजिता शुक्रबार पोजेटिभ आएको हो।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार असार १० गते बेलुका साढे ७ बजेतिर अन्दाजी ३५ वर्षीया ती महिलालाई प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकबाट उद्धार गरी उपचारको लागि प्रतिष्ठानमा लगिएको थियो।

‘सडकमा मागेर खाने ती महिला विरामी भएको भन्ने सर्वसाधारणको जानकारी पछि वडाध्यक्ष रमेश पाण्डे र प्रहरी निरीक्षकले उद्धार गरी प्रतिष्ठान पुर्‍याउनुभएको भएको हो,’ डिएसपी खड्काले भने ‘ प्रतिष्ठान लगेको डेढ घन्टामै उहाँको उपचारका क्रममा मृत्यु भएको थियो।’

ती महिलाको शव प्रतिष्ठानमै रहेको र कार्यविधि अनुसार अन्त्येष्टि गर्ने तयारी गरिएको डिएसपी खड्काले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस