Techie IT
×
गृहपृष्ठग्लोबलबेलायतबेलायत बसेका १५ जना नेपालीहरु कोरोना परीक्षण विना नै गैरकानूनी रुपमा नेपाल जाँदै

बेलायत बसेका १५ जना नेपालीहरु कोरोना परीक्षण विना नै गैरकानूनी रुपमा नेपाल जाँदै


लण्डन(जिएनएन) –  गैरकानूनी रुपमा बेलायत बसोबास गरिरहेका १५ जना नेपालीहरु बेलायतबाट भोलि बुधबार चार्टर फ्लाईटमार्फत नेपाल जान लागेका छन् ।

जजिरा एयरवेजमार्फत बुधबार नेपाल जाने १ सय ५८ जना मध्ये १५ जना गैरकानूनी रुपमा बेलायत बसोबास गर्दै आएका व्यक्तिहरु भएको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको हो । गैरकानूनी रुपमा बेलायत बसोबास गर्ने नेपालीहरुको नाम भने गोप्य राखिएको प्रवक्ता शरदराज आरनले बताए ।

गैरकानूनी रुपमा बेलायत बसोवास गरिरहेका नेपालीहरुले आफ्नो समस्या दुतावासमा बताएपछि दुतावासले कोरोना चेकजाँच गराउनु पर्ने स्वास्थ्य निर्देशिकालाई समेत परिमार्जन गरेको छ ।

‘गैरकानूनी रुपमा बेलायत बसिरहेका १५ जनाले यहाँ स्वास्थ्य चेकजाँच गर्दा अध्यागमन र प्रहरी समात्ने सम्भावना भएकाले विना स्वास्थ्य परीक्षण नेपाल जान पाउनु पर्याे भनेर समस्या राख्नु भयो,’ दुतावासका प्रवक्ता शरदराज आरन भने, ‘यहाँको कानुनअनुसार उहाँहरुले राखेको व्यावहारिक समस्या समाधान गर्न पिसिआर/आरडिटि टेस्ट नेगेटिभ अनिवार्य चाहिने नेपाल सरकारको स्वास्थ्य निर्देशिकालाई परिमार्जन गरेका छौं ।’

उनका अनुसार एयरवेजसंग यसबारेमा छलफल हुँदा टेष्ट बिना नै उनीहरुलाई लैजानमा समस्या नरहेको बताएका छन् । दुतावासले यसरी नेपाल जाने सबै यात्रुको नेपालमा पुन: स्वास्थ्य परीक्षण हुने दाबी गरेको छ ।

तर, सरकारले बेलायतबाट नेपाल जाने नेपालीहरुका लागि जारी गरेको जरुरी सूचनाको बुँदा नम्बर २ मा “चार्टर फ्लाइटका लागि यात्राहरुले पिसिआर वा आरडिटी टेस्ट नेगेटिभ वा कोभिड-१९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको प्रमाण प्राप्त गरेको हुनुपर्ने” उल्लेख छ ।

बुधबारको चार्टर फ्लाइटमा १५ जना कागजबिहीन व्यक्तिहरुसहित, विद्यार्थीहरु, डाक्टरहरु, नेपालमा आफ्ना मानिस गुमाएर जाने व्यक्तिहरुलगायत १ सय ५८ जना रहने बताइएको छ । १ सय ५८ सिट क्षमताको सो एयरलाइन्समा १ सय ८० जनालाई टिकट लिन भनिएको थियो । अहिले सम्म कति जनाले टिकट लिएका छन भन्ने बारेमा बेलायतस्थित ट्राभल्सका प्रतिनिधि जीवन सेनले अनभिज्ञता प्रकट गरे ।

सरकारले आगामी २४ र २६ जुनमा बेलायतबाट नेपाल उडान भर्न चार्टर फ्लाइट गर्न लागेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेको छ ।

बेलायतबाट नेपाल उडान भर्ने जिम्मा पाएको जजिरा एयरवेजको टिकेटिङको जिम्मा पाएको सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजले २४ र २६ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० नेपाल उडान गर्ने सूचना जारी गरिसकेको छ । यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।


क्याटेगोरी : समाचार, बेलायत
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस