Techie IT
×
गृहपृष्ठसमाचारकरिब १०० करोड सम्पत्ति छाडेर गए सुशान्तसिंह राजपुत

करिब १०० करोड सम्पत्ति छाडेर गए सुशान्तसिंह राजपुत


बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु भएको आज चार दिन भयो। उनको आत्महत्याको खबरले परिवार, साथीहरू, प्रशंसक मात्र नभई पूरै बलिउड शोकमा छ।

उनले आत्महत्या गर्नुका पछाडि विभिन्न कारणहरू भएका अनुमान पनि लगाइएका छन्। अनुमानित कारणहरुमध्ये उनलाई आर्थिक समस्या भएको कुरा पनि फैलिएको छ।

तर सुशान्तका एक नजिकका साथीले आर्थिक समस्या परेको कुरा अफवाह भएको भारतीय सञ्चारमाध्यम पिंक भिलालाई बताएका छन्।

‘सुशान्त आर्थिक समस्यामा परेका थिए भन्ने अनुमान लगाइएको छ। तर उनलाई यसमा कुनै समस्या थिएन,’ परिचय नखुलाउने सर्तमा सुशान्तका एक नजिकका साथीले भनेका छन्, ‘उनीसँग केही फिल्महरू लाइनमा थिए। केही फिल्मका लागि छलफल समेत हुँदै थियो। जहाँसम्म मलाई थाहा छ, उनी अर्को वर्षको मध्यसम्मका लागि व्यस्त थिए। अरू थप दुई फिल्मका लागि हस्ताक्षर गरेका भए, २०२० का लागि उनीसँग ५ फिल्म हुन्थे। हरेक फिल्मको लागि सुशान्त ८ करोड भारूसम्म नगद लिन्थे।’

यति मात्र नभई, एक निर्माताले उनलाई तोकिएको पारिश्रमिकभन्दा बढी तिर्न राजी भएको समेत उनले बताएका छन्। दुई निर्माताहरू यो महिनाको अन्तिममा सुशान्तसँग भेट्ने योजनामा थिए। तर उनी सम्पर्कमा थिएनन्। सुशान्त सम्पर्कमा नभएपछि ती निर्माताले उनको नजिकका साथीसँग सम्पर्क राखेका थिए। उनीहरूले सुशान्तलाई फिल्मका लागि ११ करोड भारू तिर्न तयार भएका उनले बताएका छन्।

सुशान्तको मृत्युपछि उनले निर्देशक आनन्द गान्धी र रुमी जेफ्रीका गरी दुई प्रोजेक्टका लागि कुरा गरेका थिए भन्ने कुरा पनि सार्वजनिक भइरहेका छन्। यो बाहेक उनी निर्देशक आनन्द एल राईसँग समेत फिल्म सम्बन्धी छलफल क्रममा थिए भन्नेछ।

त्यस्तै इन्डिया डटकमका अनुसार उनको कुल सम्पत्ति करिब एक सय करोड नेपाली रूपैयाँ बराबरको थियो। उनलाई बाइक एकदमै मनपर्ने भएकाले धेरै महँगा मोटरसाइकलहरू पनि किनेका थिए। त्यस्तै उनीसँग दुई‍ वटा महँगा कार पनि थिए। करिब एक सय करोडको सम्पत्ति छाडेर गए पनि उनी सहयोग गर्नमा उत्तिकै उदार भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस