Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए पोर्चुगलमा लाग्यो ताला : पाँचौपटक नेपाली कुट्ने थापा सहित तिनै जनालाई संघले निलम्बन नगरे नागरिक समाजका युवाहरुले कारवाही गर्ने !

एनआरएनए पोर्चुगलमा लाग्यो ताला : पाँचौपटक नेपाली कुट्ने थापा सहित तिनै जनालाई संघले निलम्बन नगरे नागरिक समाजका युवाहरुले कारवाही गर्ने !


लिस्बन – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा ताला लागेको छ। संघको राजधानी लिस्बनको अन्जोसस्थित कार्यालयमा भेला भएका करिब २०० जना नागरिक समाजका युवाहरुले संघको कार्यालयमा एउटा सुचना टास्दै अनिश्चित समयको लागि ताला लगाई दिएका हुन् ।

नागरिक समाजका युवाहरूले कार्यालय ताला लगाउदै बरिष्ठ उपाध्यक्ष लगायत घटनामा संलग्न सबैलाई कारबाही नगरेसम्म ताला नखुल्ने बताएका छन्। गत आइतबार संघका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका थिए । एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले मान्छे कुटेको पहिलो घटना भने होइन। उनले कतिलाई कुटे त्यसको लेखाजोखा छैन, तर समाजमा बाहिर आएका घटनामा नेपाली कुटेको यो पाँचौ घटना हो।

PORTUGAL NRNA

थापाले कार्यसमिति सदस्य हुदा ३ छुट्टाछुट्टै घटनामा ३ जना नेपालीलाई कुटेका थिए भने हालको बरिष्ठ उपाध्यक्ष पदमा दुई छुट्टाछुट्टै घटनामा ३ जना नेपालीलाई कुटेका छन्। आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई बाँकी नराख्ने धम्की दिने गरेका कारण कुटाई खाने डरले उपाध्यक्ष थापाको बिरुद्धमा पोर्चुगलको नेपाली समाजका अगुवाहरु बोल्न र लेख्न डराउछन्। आक्रमणबाट रेग्मीको कानको लोटी च्याट्टिएर रगताम्मे भएका थिए । हातगोडामासमेत चोटपटक लागेको छ । उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोटपटकसहित गहिरो दुखाइका कारण अस्पताल गएका थिए ।

उनीहरु उपचारपछि घर फर्केका छन् । घटनापछि मारपिटमा संलग्न एनआरएनए पोर्तुगल निकै आलोचित बन्यो र मारपिटका घटनामा संलग्न पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने मागहरु जनस्तर र स्वयं घटनाका पिडितहरुले गरे। तर, अध्यक्ष तिलक गैरेले मान्छे कुट्ने आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई कारवाही गर्नुको सट्टा उल्टै बचाउने खेलमा लागे। उक्त आक्रमण भएको बिषयमा एनआरएनएमा पीडितले न्यायको निवेदन दर्खास्त गरेका थिए ।तर अध्यक्ष तिलक गैरेले कार्यसमितिलाई जानकारी नगराई सर्बपक्षिय बैठक भन्दै आफ्ना निकटतम अगुवाहरुलाई बोलाएर पीडितलाई डर धाक धम्कि दिएको खबर सार्वजनिक भएको छ ।

PORTUGAL NRNA

यस अघि सर्बपक्षिय बैठकमा घटना नमिल्ने हो भने सामाजिक अगुवाहरुलाई दिन गन्ती गन्न भन्दै सामाजिक संजाल मार्फत धम्की दिएका थिए। घटनालाई भित्रभित्र सामसुम पार्ने र मिलापत्र गर्ने र बारम्बार मारपिट गर्ने र संघको साख गिराउने काम गर्नेहरुलाई समेत बचाउने रणनीतिमा निरन्तर लागिपरेपछि नागरिक समाजका युवाहरु आक्रोशित हुदै आज करिब ३ बजेतिर संघको कार्यालयमा पुगेका थिए। संघको कार्यालयमा जम्मा भएका युवाहरुले अध्यक्ष गैरेले जानकारी गराएर कार्यालयमा छलफलका लागि आउन अनुरोध गरेतापनि अध्यक्ष गैरेले आउन आनाकानी गरे।

त्यस्तै घटनाका आरोपित संघका बरिष्ठ उपाध्यक्ष थापालाई पनि सम्पर्क गरेर कार्यालयमा आउन अनुरोध गरेको नागरिक समाजका युवाहरु बताउछन। जति कोशिस गर्दा पनि अध्यक्ष गैरे र घटनाका आरोपित उपाध्यक्ष थापा छलफलको लागि संघको कार्यालयमा नआएपछि ३ घण्टासम्म कुरेर बसेका नागरिक समाजका युवाहरु आक्रोशित हुदै एक सुचना टाँस गर्दै संघको कार्यालयमा ताला लगाई दिएका हुन्। संघका अध्यक्ष तिलक गैरेले हल्का कागजात लेखेर घटनालाई थामथुम पार्न लागिपरेका छन्। तर यही घटनालाई लिएर एनआरएनए पोर्चुगलभित्र भने ब्यापक रडाको मच्चिएको छ।

PORTUGAL NRNA

संघका उपाध्यक्ष अशोक गुरुङले गलत कार्य गर्नेहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै शक्तिको दुरुपयोग गर्दै पीडकलाई कार्बाही नगरी उल्टै उनीहरुकै समर्थन गर्ने, प्रसय दिंदा पीडकलाई झनै गलत कार्य गर्न हौसला मिलेको हुनाले अङ्कुश लगाउन अनुरोध गरेका छन् । नेतृत्वले संघको गरिमामा आँच आउने र बारम्बार नेपालीहरुलाई नै कुटपिट गर्नेहरुमाथि कारवाही नगरे संघभित्र बिद्रोह गर्ने बताएका छन्। यस अघि पनि उपाध्यक्ष थापाले ९ फेब्रुअरीका दिन लिस्बनमा सम्पन्न एक म्युजिकल कन्सर्ट स्थलमा समाचार संकलन गर्न गएका पत्रकार तथा एनआरएनए सदस्य सवीन धितालमाथि पनि हातपात गरेका थिए ।

पोर्तुगलको नेपाली समुदायमा त्यो घटनाले निकै हलचल ल्याउनुको साथै संघ र त्यसको नेतृत्व निकै आलोचित बनेको थियो। जतिनै सुकै बिरोध भएपनि एनआरएनए अध्यक्ष तिलक गैरे तीन महिनासम्म घटनाको बारेमा मौन बस्दै उल्टै घटनाका पिडित धिताललाई नै दोषी देखाएर हातपात गर्ने थापालाई बचाउने काम गरेका थिए। पत्रकार तथा संघका सदस्य धितालमाथि कुटपिट गरेको घटना र आइतवारको घटनाका पिडितहरुको उजुरी संघको केन्द्रसम्म पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस