Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षद्वारा फेरि दुई युवकमाथि कुटपीट, गैर एनआरएनए विघटनको संघारमा

एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षद्वारा फेरि दुई युवकमाथि कुटपीट, गैर एनआरएनए विघटनको संघारमा


लिस्बन – गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन् ।

आइतबार उनीहरुले सिन्त्रामा रहेको एक नेपाली रेष्टुरेन्टमा साथीभाइ बसेर नेपाली परिकार खाइरहेको बेला रेग्मी र उप्रेतीलाई आक्रमण गरेका हुन् ।थापाले केही बेर पनि कुरा नहुँदै हातपात गरेका थिए । घटनास्थलमै रहेका एनआरएनए सदस्य सुमन शर्मा चौलागाइँका अनुसार थापाले हात हालेपछि कुँवर र आचार्यले पनि दुईजनालाई आक्रमण गरेका थिए ।

आक्रमणबाट रेग्मीको कानको लोटी च्याट्टिएर रगताम्मे भएका थिए । हातगोडामासमेत चोटपटक लागेका उनको अलमादा अस्पतालमा उपचार भइरहेको छ । उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोटपटकसहित गहिरो दुखाइका कारण अस्पताल गएका थिए । उनी उपचारपछि घर फर्केका छन् ।

रेग्मी र उप्रेतीलगायतका पाँचजनाको समूहमा बसेका नेपाली युवकहरुलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष थापाले उप्रेतीसँग लेनदेनको विषयमा विवाद शुरु गरेका थिए । विषय लेनदेन भए पनि थापासँग लेनदेनको कारोबार नभएको उप्रेतीको दावी छ ।

यस अघि थापाले ९ फेब्रुअरीका दिन लिस्बनमा सम्पन्न एक म्युजिकल कन्सर्ट स्थलमा एनआरएनए सदस्य सवीन धितालमाथि पनि हातपात गरेका थिए । पोर्तुगलको नेपाली समुदायमा त्यो घटनाले बबन्डर मच्चिए पनि एनआरएनए अध्यक्ष तिलक गैरेले थापालाई काखी चापेका कारण अहिले मत्थर बनेको छ ।

नेपाली समाजका अध्यक्ष सोम शेर्पाले गैरे नेत्रित्वको एनआरएनए विघटनको कुनै विकल्प नभएको कुरा उल्लेख गर्दै गैरेले राहत वितरण र खरिदमासमेत व्यापक घोटाला गरेको कुराको खुलासा गरेका छन् ।

सम्पूर्ण केसीले सामाजिक सञ्जाल फेसबुकमा यस्ता हैसियतका मान्छेहरु एनआरएनएको ठूलाबडा भएर छाती फुलाउने गरेको उल्लेख गर्दै अब एनआरएनए नै बहिष्कार गर्नुपर्ने आव्हान गरेका छन् । एनआरएनए बहिष्कार गर्‍यौ भने मात्र यिनीहरुको सेखी तोडिने उनको निष्कर्ष छ ।-एजेन्सी


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस