Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाप्रहरी अधिकारीले काला जातिलाई घाँटी थिचेर मार्दा अमेरिका अशान्त

प्रहरी अधिकारीले काला जातिलाई घाँटी थिचेर मार्दा अमेरिका अशान्त


अमेरिका – एकजना काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको घटनालाई लिएर पछिल्ला पाँच दिनदेखि शक्ति राष्ट्र अमेरिका अशान्त छ।

अमेरिकाभरि ठाउँठाउँमा प्रदर्शनहरू भइरहेका छन्। शान्तपूर्ण भनिएका प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र पसल/स्टोरमा लुटपाट गरेका छन्, प्रहरीसँग ठाउँठाउँमा उनीहरूको झडप भएको छ।

भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौं राउन्ड रबर बुलेट र अश्रुग्यास हानेको छ। सार्वजनिक भएको एउटा भिडिओमा प्रहरीको भ्यानले प्रदर्शनकारीलाई ठेल्दै लगेको देखिन्छ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि विभिन्न राज्यहरूले आफ्ना सहरहरूमा कर्फ्यू आदेश जारी गरेका छन्। नेशनल गार्ड परिचालन गरिएको छ।

प्रदर्शनकारीले राष्ट्रपति निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको न्युयोर्कस्थित ट्रम्प टावर पनि घेरा हालेका छन्।  स्थिति तत्कालै सामान्य हुने अवस्था देखिँदैन।

प्रदर्शनकारीहरूले मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय दिनु पर्ने माग गरेका छन्। उनीहरूको आन्दोलन जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र विभेदको विरूद्धमा छ।

यसअघि पनि अमेरिकी प्रहरीले काला जातिका मानिसलाई सामान्य कुरामा पनि गोली हानेर मारिदिने गरेका घटना सार्वजनिक हुन्थे। पछिल्लो प्रर्दशन भने एकजना गोरा प्रहरी अधिकारीले फ्लोयडको घाँटीमा घुँडाले थिचेर मारेको भन्दै सुरू भएको हो।

घटना गत सोमबार रातिको हो। मिनियापोलिसका वासिन्दा ४६ वर्षीय फ्लोयड एउटा स्टोरमा मेन्थोल फ्लेवरको चुरोट किन्न गए। उनले चुरोट किने र २० डलर दिएर बाहिर निस्के।

एकछिनमा उक्त स्टोरको मान्छेले प्रहरीलाई खबर गरे- एकजना मान्छे २० डलरको नक्कली नोट दिएर गयो। हामीले उनलाई खोज्दै हिँड्दा बाहिर गाडीमा बसिरहेको देख्यौं।

आफूले डलर लिएर चुरोट फिर्ता दिन भने पनि उनले नमानेको गुनासो सुनाए। ती व्यक्तिले बेस्सरी रक्सी खाएको र आफूलाई नियन्त्रण नै गर्न नसकेको जानकारी पनि उनले प्रहरीलाई दिए।

फोन उठाउने प्रहरी अधिकारीले सोधे- पैसा दिने व्यक्ति कस्तो छ- गोरो, कालो, नेटिभ, हिस्पानिक, एसियन?

‘त्यस्तै त्यस्तै छ?’ उताबाट जवाफ आयो।

‘त्यस्तै त्यस्तै भन्नाले कस्तो? गोरो, कालो, नेटिभ, हिस्पानिक, एसियन?’ प्रहरी अधिकारीले फेरि सोधे।

‘होइन कालो मान्छे हो,’ फोन गर्नेले भने।

फोन गरेको केहीबेर स्टोर बाहिर प्रहरी आइसकेको थियो।

स्टोरका मान्छेले प्रहरीलाई २० डलरको नोट देखाए त्यो नक्कली हो भन्ने हेर्दै थाहा हुन्थ्यो-त्यसको मसी राम्ररी सुकेको थिएन।

अनि प्रहरी फ्लायडको नजिक गयो। कारभित्र बसेका फ्लायडलाई प्रहरीको भ्यानमा राख्न खोजियो। उनले मानेनन्।

प्रहरीको भनाइमा फ्लायडले आफैं प्रहरीको भ्यानमा जान मानेनन् बरू जानीबुझी भुइँमा लडे।

त्यसपछि प्रहरी अधिकारी डेरेक सउभिनले लडिरहेका फ्लायडको घाँटीमा घुँडाले थिचे।

फ्लायडले बेलाबेलामा मलाई सास फेर्न गाह्रो भयो भनिरहे। तर सउभिन झन्डै पौने ९ मिनेटसम्म यसरी उनको घाँटी थिचिरहे। त्यसपछि प्रहरीले उनलाई स्ट्रेचरमा राखेर अस्पताल पुर्‍यायो। अस्पताल पुर्‍याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरे।

जसै उनको मृत्यु भएको खबर आयो उसै प्रहरी अधिकारी सउभिनले उनको घाँटी थिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। घटनास्थलबाट हिँडेरहेका कसैले त्यो भिडिओ खिचेको रहेछ।

प्रहरी अधिकारीले काला जातिका मानिसमाथि अमानवीय तरिकाले व्यवहार गरेको भन्दै हजारौं मानिसले उक्त भिडिओ सेयर गरे। अर्को दिन उनीहरू प्रहरीको उक्त कदमविरूद्ध सडकमा प्रदर्शनमा उत्रिए। प्रहरीको गाडी जलाइदिए।

भिडिओसँगै प्रदर्शन पनि अमेरिकाभरि फैलियो। अहिले फ्लायडको घाँटी थिच्ने प्रहरी अधिकारीलाई थर्ड डिग्रीको हत्या अभियोग लगाइएको छ। तैपनि प्रदर्शन रोकिएको छैन। सुरूमा भएको प्रदर्शनलाई प्रहरीले संयमतासाथ नियन्त्रण नगरी जबरजस्ती बल प्रयोग गरेको भन्ने आक्रोश पनि प्रदर्शनकारीहरूको छ। – एजेन्सी


क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस