Techie IT
×
गृहपृष्ठसमाचारसडक निर्माण गर्न दार्चुलाको घाँटीबगर पुग्यो नेपाली सेना

सडक निर्माण गर्न दार्चुलाको घाँटीबगर पुग्यो नेपाली सेना


दार्चुला – दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको सेक्सन प्लस फौज तैनाथ भएको छ। महाकाली करिडोरको उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको हो।

वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडक खण्ड निर्माण जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। उक्त सडक खण्ड अन्तर्गत दार्चुलाको व्यास गाउँपालिका वडा नं २ को घाँटीबगर क्षेत्रमा गोरेटो र घोडेटो समेत सेनाले बनाउँदैछ।

त्यहाँ २ मिटर चौडाको ४ सय ५० मिटर गोरेटो-घोडेटो निर्माण गर्न लागिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।

‘बाटो बनाउने दुरी छोटो भए पनि जटिल भूगोल भएकाले सेनाले काम गर्न लागेको हो,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘निर्माण कार्यका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निम्ति बिहीबार हाम्रो टोली पुगेको हो।’

बिहीबार बिहान ११ बजे  घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आफ्नो ट्विटरमार्फत् आवश्यक उपकरण र सामग्रीसहित नेपाली सेना त्यहाँ पुगेको जानकारी दिएका छन्।

‘दशकौंदेखि भारतसित जोडिएको पश्चिमी क्षेत्रमा यो असुविधा दुर हुँदैछ,’ उनले ट्विटरमा लेखेका छन्।

सेनाका अनुसार बाटो निर्माणका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका निम्ति आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली शुक्रबार तैनाथ गर्ने योजना छ।

चीन र भारतको सीमा-नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जनालाई जिल्ला सदरमुकाम खलंगा जान पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। व्यास-२ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएकाले गोरेटो-घोडेटो बनाउन लागिएको हो।

घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सञ्चालन गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माणका लागि नेपाली सेना त्यहाँ पुगेको हो। सडक खण्ड सञ्चालन भएपछि मात्रै स्थानीयहरू नेपालकै भूमी प्रयोग गरी आवतजावत गर्न सक्नेछन्।

  • सेतोपाटीबाट

क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस