Techie IT
×
गृहपृष्ठसमाचारधरहराको टुप्पोमा बसेर काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री ओली

धरहराको टुप्पोमा बसेर काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री ओली


१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै निर्माण सक्ने उनले विश्वास व्यक्त गरे ।

धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं । हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’

पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । एकपटक आफू धरहरा चढ्दा गाह्रो भएको स्मरण गर्दै उनले भने, ‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’

उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताए । यसलाई उनले ऐतिहासिक कामको शुभारम्भ भएको बताए । २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही पुनर्निर्माणको क्रममा रहेको बताए ।

‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको अभियानलाई केही फरक ढंगले अगाडि बढाउन खोजे पनि त्यसमा ब्रेक लागेको उनले बताए । अहिले नयाँ संकल्पका साथ आफूहरु अगाडि बढेको उनले बताए । ‘अलिकति फरक ढाँचामा सोचेको थिएँ मै बनाउँछु मेरो धरहरा, सरकारी खर्चमा पनि होइन जनताकै खर्चमा । तर त्यो अभियानमा ब्रेक लाग्न पुग्यो र त्यसअनुसार अगाडि जान सकेन ।’

ओलीले भने, ‘२०७२ फागुन ४ गते यसै ठाउँमा आएर मैले मै बनाउँछु मेरो धरहरा भन्ने हरेक नेपालीको मनको भावना र संकल्प व्यक्त गरेको थिएँ, त्यसले तीव्रता नपाए पनि एउटा फरक ढंगले नयाँ संकल्पलाई अगाडि बढाएका छौं ।’

धरहराको पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस