Techie IT
×
गृहपृष्ठसमाचारडाक्टर केसी भोलि सोमवार देखि फेरी अनशन बस्ने

डाक्टर केसी भोलि सोमवार देखि फेरी अनशन बस्ने


काठमाडौं, सरकारले विगतमा आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै प्राध्यापक डा. गोविन्द केसी भोलि सोमवारदेखि फेरी अनशन बस्ने भएका छन् ।

त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गरेर सरकारलाई आफ्ना माग पुरा गर्न कात्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनशन मिति पछाडि सारेका केसीले भोलि बस्ने अनशन स्थलको बारेमा भने जानकारी दिएका छैनन् ।

डाक्टर केसीका यस्ता छन् ७ बुँदे माग

१) हामीसँग अगाडी भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२) आन्दोलनरत विद्यार्थीहरुका मागहरु पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गरियोस् । दोषी मेडिकल कलेजहरुलाई कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

३) संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

४) विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिबेदनलाई अबिलम्ब ऐनको रूप दिने ।

५) हामीसँग भएको सम्झौता अनुसार इलाम,पाँचथर, उदयपुर, डोटी र डडेल्धुरा लगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम शुरु गरियोस् । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिईयोस ।

६) मतदाता र करदाताले साधारण रोगको पनि उपचार नपाउने तर शीर्ष नेताहरु उपचारका लागि विदेश जाने अवस्था रोकियोस्। नेताहरुको उपचार खर्च पारदर्शी बनाइयोस। प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गरियोस् ।

७) द्वन्द्वकालमा मानवता बिरोधी कार्य गर्ने अपराधीहरु अहिले पनि सत्तामा रहेर कारबाही बाट बच्न संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरुमा पार्टी कार्यकर्ता भर्ना गर्ने र ऐनलाई पीड़ितमैत्री बन्न नदिन चलखेल गरिरहेका छन । तसर्थ आयोगमा पार्टी सम्बद्ध व्यक्तिहरू नभई पीडितमैत्री बिज्ञहरुलाई नियुक्ति गरियोस र ती अपराधीहरुलाई अन्तराष्ट्रिय कानून अनुसार कारबाही गरियोस् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस