Techie IT
×
गृहपृष्ठसमाचारके हाे गाउँपालिका उपाध्यक्ष निशा र जेठाजुबीचको ‘फोनकाण्ड’ ? (अडियोसहित)उपाध्यक्ष भन्छिन्, ‘परेकाे बेहाेर्छु

के हाे गाउँपालिका उपाध्यक्ष निशा र जेठाजुबीचको ‘फोनकाण्ड’ ? (अडियोसहित)उपाध्यक्ष भन्छिन्, ‘परेकाे बेहाेर्छु


बझाङ, केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीअहिले निकै आलोचित बनेकी छन् । केदारस्युँ– ७ का नाताले जेठाजू पर्ने राजु जाग्रीसँगको फोनवार्ताको अडियो सार्वजनिक भएपछि उपाध्यक्ष धामीले चर्को आलोचना खेप्नु परेको हो ।
फोनवार्तामा उपाध्यक्ष धामीले अपाच्य शब्द प्रयोग गर्दै जाग्रीलाई झपारेको प्रष्ट सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् ।
फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अपशब्द प्रयोग गरी गाली गरेकी हुन् ।
३ कात्तिकमा उपाध्यक्ष धामीले आफ्नो फेसबुक वालमा ‘कहिलेकाहीँ यसरी निदाइदिन मन लाग्छ कि मेरो आँखाले अर्को बिहानी देख्न नपरोस् । मेरो कानले अरुको बोली सुन्न नपरोस् । अनि मेरो मुटुले धड्कनलाई पूरा बेवास्ता गरेर छोडिदेओस्, अनि कसैको रुवाइको मलाई कुनै अवगत नहोस्, अनि टाढिन खोज्नेहरूलाई सधैंलाई छुटकारा मिलोस् । अन्धो त थिएन म, तर मानवहरूलाई चिन्नै सकिनँ । आफ्नो जीवनसँग आफैं…..’ लेखेर पोष्ट गरेकी थिइन् ।
उक्त पोष्टको कमेन्टमा राजु जाग्रीले ‘चिन्ता परो झन् झन्, रोएको रोएइ छ यो मन, घूस खानाले डरले चिन्ता पर्‍यो झन्’ भन्दै कमेन्ट गरेका छन् । त्यसपछि क्रमशः दुवै जना कमेन्ट बक्समै बाझेका देख्न सकिन्छ । उपाध्यक्ष धामीले कमेन्टको रिप्लाइमा पनि जाग्रीलाई अपशब्द प्रयोग गरेकी छन् ।
विवाद यति मात्रै हो त ?
उपाध्यक्ष धामी र जाग्रीबीचको विवाद फेसबुक पोस्टसँग मात्रै सम्बन्धित छैन । उनीहरुबीच भएको कुराकानीमै स्पष्ट बुझ्न सकिन्छ, कुरा लेनदेन वा भनसुनसँग जोडिएको छ ।
गत १ साउनमा गाउँपालिकामा ६८ जना स्वयंसेवक शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढ्यो । वडा नम्बर १ का वडा अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीका अनुसार मावि, निमावि, प्रावि र शिशु कक्षाका लागि ती कोटामा शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
स्वयंसेवक कोटाको शिक्षकमा आफूलाई राख्न जाग्रीले उपाध्यक्ष धामीसँग आग्रह गरेका थिए । तर, उपाध्यक्ष धामीले मानिनन्।
यसमा दुवै जनाको आ–आफ्नै दाबी छ । धामीले चाहिँ आफू प्रक्रिया र मापदण्ड बाहिर गएर कसैलाई नियुक्त गर्ने प्रयासमा नलागेको बताएकी छन् भने घूस खाएर धामीले अरुलाई नियुक्त गरेको आरोप जाग्रीले लगाएका छन् ।
के भन्छिन् उपाध्यक्ष ?
उपाध्यक्ष निशा धामीका अनुसार राजुले केदारस्युँ गाउँपालिकामा लागू भएको बालशिक्षामा आफूलाई राख्नुपर्ने माग राख्दै आएका थिए । राजुले आफूलाई बालशिक्षा कोटामा राख्न भन्दै एउटा मान्छेलाई पैसा दिएर आफूलाई भेट्न लगाएको र आफूबाट अस्वीकार भएको उपाध्यक्ष धामीको भनाइ छ ।
‘त्यसरी पैसा दिएर मान्छे लगाई बालशिक्षाको कोटामा राख्न आग्रह आएपछि मैले अस्वीकार गरें । त्यसपछि गाउँपालिकाको बालशिक्षक नियुक्त गर्ने कार्यक्रमको दिनभन्दा अघिल्लो दिन राजुले राति १०ः३० बजे फोन गरेर हैरान पार्नुभयो,’ उपाध्यक्ष धामीले भनिन्, ‘म आफ्नै तनावमा थिएँ । कात्तिक ३ गते एउटा स्टाटस फेसबुकमा राखें । उहाँले मलाई भ्रष्टाचारको आरोप लगाउनुभयो । बिनाकारण मेरो चरित्रहत्या भयो । उहाँको र मेरो लिनुदिनु केही थिएन । त्यसपछि मैले पनि फोन गरेर गाली गरें । नाताले उहाँ मेरो जेठाजू पर्नुहुन्छ । गाली नगर्नु पर्ने मैले, आवेशमा आएर गरिहालें । अब जे पर्छ, त्यो बेहोर्न तयार छु ।’
के भन्छन् राजु जाग्री ?
राजुले उपाध्यक्ष धामीले आफूलाई एक्कासि बिनाकारण गाली गरेको बताएका छन् । गल्ती गरेकै भए आफूलाई गाली नगरेरै कानुनी व्यवस्थाअनुसार कारबाही गर्नुपर्ने उनी बताउँछन् ।
फेसबुकमा आफूले कुनै रिस नभई मजाक गर्न खोजेको उनको भनाइ छ । बालशिक्षामा भएको अनियमितताबारे कुरा सामाजिक सञ्जालमा भाइरल भएकाले आफूले लेखेको उनको तर्क छ । उपाध्यक्ष निशाले बालशिक्षामा भ्रष्टाचार गरेको प्रमाण आवश्यक परे देखाउन तयार रहेको दाबी जाग्रीले गरेका छन् ।
जिम्मेवार पदमा आसिन तपाईंजस्ताे व्यक्तिले त्यसरी अश्लील शब्दले गाली किन गर्नुभयो भन्ने प्रश्नमा उपाध्यक्ष धामीले भनिन्, ‘म आवेशमा थिएँ, निराधार आरोप लगाएकाले मैले रिसको आवेगमा त्यसरी गाली गर्न पुगेँ ।’
उपाध्यक्षमाथि प्रश्न :
यसअघि पनि बोलीका कारण विवादमा आएकी थिइन् । अनौपचारिक कुराकानीमा उनलाई जनप्रतिनिधि र गाउँपालिकाकै कर्मचारीले बोलीमा लगाम लगाउन सुझाव दिन्थे । ‘उहाँ जो कोहीसँग पनि अलि छिट्टो रिसाइहाल्ने, तँ भन्ने शब्द प्रयोग गरिहाल्ने स्वाभावको हुनुहुन्छ,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘हामीले उहाँलाई बोल्ने शैली सुधार्न पटक–पटक आग्रह गरेका छौं । मनको सफा भए पनि बोलीमा अपशब्द निस्केपछि समस्या त परिहाल्छ नि !’
केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष धामी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा २ हजार ६ सय ६९ मत ल्याई उपाध्यक्ष भएकी थिइन् । साभार : शिलापत्र/प्रताप ओलि
सार्वजनिक भएकाे अडियाे संवाद यस्ताे छ ः

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस