Techie IT
×
गृहपृष्ठसमाचारसंघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेराे उम्मेदवारी – मुसलमान

संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेराे उम्मेदवारी – मुसलमान


काठमाडौं – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्ने साथै सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा विशेष पहल र प्रयास गर्ने मुख्य अभिप्रायका साथ परिषद्को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन मार्फत २०२३–२५ कार्यकालका लागि सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दुई दशक लामो ईतिहास बोकेको संघको अभियानमा झण्डै १४ वर्ष देखि सकृय रहेका मुसलमानले एनसीसी कतारको परिषद सदस्य हुँदै कार्यसमिति सदस्य, सचिवालय सदस्य, सल्लाहकार र सन् २०१९–२१ र २०२१–२३ गरि निरन्तर २ कार्यकाल एनसीसी कतारकाे अध्यक्षकाे भुमिका समेत निर्वाह गरीसकेका छन् ।

संघप्रतिमा आफ्नो लामो अनुभव, प्रतिवद्दता र क्रियाशीलता रहेको बताउँदै मुसलमानले थप केही योगदान गरौं भन्ने इच्छाले आगामी अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३–२५ कार्यकालको लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

फेसबुक मार्फत एक विज्ञप्ती जारी गर्दै मुसलमानले भनेका छन्, “संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र शुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु ।”

मुसलमानद्धारा जारि विज्ञप्ती जस्ताको त्यस्तै :

गैरआवासीय नेपाली संघको सह-कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी:

आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता ज्यूहरु, एघारौं महाधिवेशनका प्रतिनिधि ज्यूहरु तथा सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू सबैमा सादर नमस्कार अस्सलामोअलैकुम !

विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौमा हुँदैछ । २००३ मा स्थापित संस्थाले दुई दसक पार गर्दै गर्दा हाल सम्म अनेकौं आरोह, अवरोह पार गर्दै गैरआवासीय नेपालीहरुका हकहितका लागि ठुलो सम्भावना र केहि उपलब्धी समेत हासिल गरेको छ ।

संघको ११ औं महाधिवेशन हुन अब केही दिन मात्र बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो इच्छा जाहेर र दावी गर्ने क्रम पनि चलिरहेको छ ।
म आफैं पनि बिगत १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिबालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु ।

संघप्रतिको मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।

संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु ।

सह-कोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा केही प्रतिवद्दता र प्रयासहरु निम्न बमोजिम रहने छन् :
१) सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।
२) संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।
३) आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।
४)वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु । यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु ।
५) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ ।
६) “नेपालीका लागि नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद !

मोहम्मद मुक्तदा मुसलमान
सह-कोषाध्यक्षको उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस