Techie IT
×
गृहपृष्ठग्लोबलमनोज गोर्खालीद्वारा एनआरएनए सचिव पदमा उम्मेद्बारी घोषणा

मनोज गोर्खालीद्वारा एनआरएनए सचिव पदमा उम्मेद्बारी घोषणा


दोहा-गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएका मध्यपूर्व संयोजक गोर्खालीले २०२३–२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठले आफुले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको बताएका छन्।

मनोज कुमार श्रेष्ठ (गोर्खाली) घोषणापत्र जस्ताको तेस्तै

१) रिटर्नी श्रमिकहरुको पुनस्र्थापना

गैरआवासीय नेपाली संघले वैधानिक र सुरक्षित बैदेशिक रोजगारीको लागि निरन्तर आवाज उठाउदै आईरहेको छ । संघकै पहलकदमीमा बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानको थालनी भईसकेको छ । यसले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षालाई सम्बोधन गर्ने विश्वास लिएका छौं । यद्दपि यसमा थप सुधार र स्पष्टताको आवश्यकता जरुरी देखिन्छ । अबको अभियान यतिमा मात्र सिमित रहँदा श्रमिकहरुमाथि न्याय पूरा हुँदैन । अवको अभियानमा बर्षौ बिदेशमा जीवन बिताएर फर्किएका श्रमिकहरुको सामाजिक र आर्थिक पुनस्र्थापना झन महत्वपूर्ण हुनेछ । यो मुद्दालाई गैरआवासीय नेपाली संघको मुद्दाको रुपमा स्थापित गर्न र टुङ्गोमा पुर्याउनको लागि मैले सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँँ । यसका लागि आवश्यक कार्ययोजना बनाएको छु ।
२) बिप्रेषण (रेमिट्यान्स) को बृद्धि एवं सामाजिक सुरक्षाको कार्यन्वयन
देशको ग्राहस्थ उत्पादनको एक चौथाइ भाग बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले धानेको छ । यद्दपि अहिले पनि ठुलो मात्रामा अबैधानिक श्रोतबाट हुने कारोबारले रेमिट्यान्सलाई मात्रात्मक रुपमा असर पुगेको मात्र छैन देशको सुरक्षालाई चुनौती दिदै अर्थतन्त्रलाई नै क्षति पुगेको छ । बैधानिक तवरले रेमिट्यान्स पठाउन उत्प्रेरित गर्नको लागि श्रमिकहरुलाई प्रोत्साहन गर्ने आवश्यक कार्ययोजना सहित सरकारी स्तरमै पहल गरिनेछ ।

गैरआवासीय नेपाली संघको पहलकदमीमा नेपाल सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । यसले बिदेशमा रहेका नेपालीहरु अङ्गभङ्ग भएको अवस्थामा, मृत्यु भएमा उसको परिवारको सुरक्षाको प्रत्याभुति गरेको छ । अझै पनि यसको पूर्ण कार्यन्वयन गर्नु गराउनु हामी सबैको कर्तब्य हो । यो कोष अहिले नै पूर्ण नहोला तर समय अनुसार यसको परिमार्जन र सुधार हुँदै जानेछ ।  बैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुलाई यसमा जोड्नु नै आजको आवश्यकता हो । यसको लागि बिशेष योजना बनाएर बैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई जोडिनेछ जसले रेमिट्यान्सको बृद्दिमा गुणात्मक फड्को मार्नेछ ।

३) सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता

गैरआवासीय नेपाली संघको संगठन दह्रो बन्दै गईरहेको अवस्था छ । हजारौं गैरआवासीय नेपालीहरु यस संस्था प्रति आकर्षित बन्दै गईरहेका छन । युवाहरुलाई खेलकुदको माध्यमबाट संस्थामा जोड्ने ठोस योजना बनाइनेछ । संस्थालाई थप पारदर्शी बनाउनु आजको आवश्यकता पनि हो । यसर्थ यस २०२३ – २०२५ कार्यकालमा संघको आर्थिक पारदर्शिता मेरो प्रमुख एजेण्डा रहने छ साथै संघमा महिला तथा युवाहरुको बढ्दै गएको आकर्षणलाई स्थायी र दिगो बनाउँदै संस्थामा पुष्तान्तरण खोजिनु पर्दछ ।

४) नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता
अन्ततः एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ ।  गैरआवासीय नेपाली नागरिकता दिने प्रावधान सहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भइसकेकोे छ । यो उपलब्धिका लागि संसारभरि रहनु भएका एनआरएनए मित्रहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने गरी नेपाल सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने छु ।

यही कारण अब मैले एनआरएनएको अर्को महत्वपूर्ण सचिव पदमा गएर सेवा गर्ने अठोट गरे । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । धेरैले सोध्छन, एनआरएनएको मुख्य काम के हो ? एनआरएनएको मुख्य काम विदेशमा रहेका नेपाली बीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपाली बीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित हुने छैन ।

अतः यसपटक पनि यहाँहरुले विगतको जस्तै आशा, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मैले व्यक्तिगत स्वार्थ नभई सामूहिक हितका लागि काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

मनोज कुमार श्रेष्ठ (गोर्खाली)
सचिव पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस