Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएन आइसीसी उपाध्यक्ष पदमा कतारबाट राज रेग्मीको उम्मेदवारी घोषणा

एनआरएन आइसीसी उपाध्यक्ष पदमा कतारबाट राज रेग्मीको उम्मेदवारी घोषणा


दोहा-बिगत दुई दशक देखि कतारलाई कर्मभुमि बनाउदै आएका राजु रेग्मी ‘राज’ले कर्मभुमि कतारबाट गैरआवासीय नेपाली संघ एनआरएन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कर्मभुमि  कतारमा एक कार्यक्रमको आयोजना गरि वर्तमान युवा उपाध्यक्ष रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

नयाँ निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पदाधिकारी ,सदस्य सहित एनआरएनए महाधिवेशन प्रतिनिधीहरुसंग भेटघाट कार्यक्रममा आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन,दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न,एनआरएनएमा युवा सहभागिता बढाउने लक्ष्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।

उनको घोषणापत्रमा सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रहेका छन्।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशील रेग्मी कतारमा सफल व्यवसायी साथै समाजसेवीका रुपमा परिचित छन् ।

उनको घोषणापत्र जस्ता को तेस्तै

गैरआवासीय नेपाली संघ ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन

राज रेग्मी (उपाध्यक्ष पदका उम्मेदवार) प्रतिबद्धतापत्र

गैरआवासीय नेपाली संघका श्रद्धय संस्थापकज्यूहरु, पूर्व अधयक्षज्यूहरु, संरक्षकज्यूहरु, अध्यक्ष एवं पदाधिकारीज्यूहरु, सल्लाहकारज्यूहरु, कतार स्थित आईसीसी पदाधिकारी ज्यूहरु, मानार्थ परिषद् सदस्यज्यूहरु, आईसीसी सदस्यज्यूहरु, अग्रज तथा अभियान्ताज्यूहरु, एनसीसी अध्यक्ष एवं पूर्व अध्यक्षज्यूहरु, विश्वभरका महाधिवेशन प्रतिनिधीज्यूहरु साथै संपूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनी र पत्रकार मित्रहरु एवं  शुभेच्छुक साथीहरु ।

यहाँहरु सवैमा सम्मानपूर्वक नमस्कार ।

सर्वप्रथम त विश्वमा छरिएर रहेकका संपूर्ण गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिबेशनबाट निर्बाचित संपूर्ण अध्यक्षज्यूहरु, पदाधिकारी तथा सदस्यहरुमा हार्दिक वधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु । त्यसैगरि संघको आशन्न ११ औं अन्तर्राष्ट्रिय महाधिबेशनका लागि छनौट हुनुभएका प्रतिनिधीज्यूहरुबाट आशन्न ११ औं महाधिबेशन सफल बनाउन सक्रिय र शसक्त भुमिका रहनेमा म बिश्वस्त छु ।

पवित्र शव्द नेपालीका लागी नेपाली भन्ने नाराको उद्घोष सहित सन २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ, विश्व स्तरमा व्यापक विस्तार र संघको अभिष्टले के पुष्टि गरेको छ भने, गैरआवासीय नेपाली संघ समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच छिपेको छैन । दुई दशक लामो इतिहासमा गैरआवासीय नेपाली संघले नेपाल सरकारको सहकार्यमा नेपालीहरुको हकहितकालागि आफुले सक्दो पहल गर्दै आएको छ । विदेशमा सिकेको ज्ञान, सीप र अनुभवहरुलाई नेपालमा भित्राउन संस्थागत प्रयासहरु भैरहेका छन । संघ मार्फत नेपालमा महाभूकम्प, कोरोना, वाढी तथा पहिरो जस्ता दैवी प्रकोप लगायतका विभिन्न परोपकारी कार्यमा योगदान भएका छन । शिक्षा, स्वास्थ्य, पर्यटन र परोपकारी कार्यहरुको विस्तार एवं संस्थागत प्रयासले पक्कै पनि संमृद्ध नेपालको अभिलाषा हाम्रै पालामा हुने निश्चित प्राय छ ।

वैदेशिक रोजगारीको लामो श्रृखला पार गर्ने समयमा आदारणिय अग्रज अभियान्ताहरुको मार्गमा गैरआवासीय नेपाली अभियान मार्फत अगाडी वढ्दै गर्दा पक्कै पनि मैले सम्झनु पर्दछ पूज्यनिय मेरा माता पिता जस्ले मलाई जन्म दिई यस अभियानमा सहभागि हुन वाल्यकाल देखिनै सु संस्कार प्रादन गर्नु भयो । आदारणिय गुरुहरु जस्ले नैतिक ज्ञान प्रदान गर्नु भयो । आदारणिय छर छिमेकी दाजुभाईहरु समूहमा काम गर्ने बाटो देखाउनु भयो । संपूर्ण मेरो परिवार मेरो लक्ष्य हासिलमा सधै हातमा हात राखिदिनु भयो । मेरो कर्मक्षेत्रका सामाजिक अग्रज एवं साथी भाईहरु जसले मलाई सामाजिक काममा साथ लिने र हौसला प्रदान गर्दै अगाडी वढाउनु भयो । मेरो कार्यालयका सहकर्मी साथीहरु जस्ले हाम्रो काममा सधै इमान्दारीता प्रदान गरी यस अभियानमा केही गर्ने आँट वढाईदिनु भयो । यहाँहरु सवै मेरो सामाजिक अभियानमा प्रेणाको श्रोत हुनुहुन्छ भने वर्तमान र भविश्यको सम्मानित सल्लाहकार हुनुहुन्छ । विगत देखि वर्तमानमा आइपुग्दा सकरात्मक उद्देश्यमा समाज भित्र रहेर सेवा गर्ने अवसर प्राप्त गरे र अझै धेरै गर्ने संकल्प पनि गरेको छु । यो संपूर्ण श्रेय यहाँहरुलाई टक्र्याउन चाहान्छु, जुन मेरा लागि पर्यन्त आत्मसन्तुष्टिको श्रोत रहने छ ।

विदेशमा रहेका हामी संपूर्ण गैरआवासीय नेपालीहरुलाई एकत्रित गरी सवै अट्ने र सवैलाई समेट्ने गरी हामी सवैको साझा संस्था स्थापना गर्न परिकल्पना गर्नु हुने श्रदय परिकल्पनाकारज्यूहरु र संपूर्ण संस्थापकज्यूहरु सवै प्रती हार्दिक नमन् प्रकट गर्दछु । म वैदेशिक रोजगारीको लागी कतारमा आईरहदा यहाँ क्रियाशिल सामाजिक सहकर्मी साथीहरुको सहकार्यमा हामी सवै अट्ने साझा संस्था नेपाली समाज र देश समृद्धिमा म जस्ता तमाम गैरआवासीय नेपाली साथीहरुको लागि महत्वपूर्ण प्लेट फार्म वनेको कारण पनि संस्थापक र परिकल्पनाकारज्यूहरु प्रति नतमस्तक छु जस्ले नयाँ नेपाल निर्माणको सच्चा साझेदारीका लागी एक साधक संस्था जन्मायो ।

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट मलाई यहाँहरुको साथ र स्नेहवाट यूवा उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने तपाई सवै सहयोगि मनहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । मैले के गरे या गरिन वा गर्न सके वा सकिन त्यसको मुल्याङ्कन यहाँहरु सवैमा निर्भर रहन्छ । संघप्रतिको निष्ठापूर्र्ण मोह, भरोषा र मायाँका कारण म यस अभियानमा विट मार्न नसक्ने वनाउनु, यहाँहरुकोे सहयोग र सद्भावपुर्ण सम्वन्धका कारण म पुन आगामी विश्व सम्मेलन तथा संघको ११ औं अन्तराष्ट्रिय महाधिबेशन मार्फत तपाईहरुलाइनै साक्षी राखेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिने सहर्ष जानकारी मेरो उत्साहपूर्ण सोच र यहाँहरुको प्रेरणाको संगम हो भन्ने मैले विश्वास गरेको छु ।

आइसीसी खुल्ला उपाध्यक्षमा उम्मेदवार दिदै गर्दा यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु की मेरो प्रेरणाको साध्य यहाँहरुनै हो र यहाँहरु मार्फतनै न्यायिक फैसला हुनेछ भन्नेमा म विश्वस्त छु । अहिले पढीरहदा मात्र होइन तपाईहरुवाट प्रदत्त जिम्मेवारीलाई गन्तव्य सम्म लैजाने र पदिय जिम्मेवारी अर्थपुर्ण वनाउने सवालमा म कर्तव्यनिष्ट भै पुरा गर्नेमा विश्वास समेत दिलाउन चाहन्छु ।

संक्षेपमा मेरो सकल्प तथा उद्घोषहरु 

१)    समृद्ध नेपालका लाागी लगानी र पर्यटन प्रवद्र्धन

(क)   संघले संचालन गरेको १० अर्बको परियोजना, स–साना सामूहिक लगानी र वैदेशिक रोजगारीका लागि शुरु भएको आइपीओ मार्फत लगानीको अवसर प्रदान गर्ने ।

(ख)   वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स्लाई उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरणको लागी स साना भए पनि सम्भाव्य ठाउँहरुको पहिचान गरी विषेश प्राविधीक विज्ञहरुको समूह वनाई क्लिीन ईनर्जी हाईडा्रे उत्पादनको लागी लगानी गर्ने अवसर तयार गर्ने ।

(ग) नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाली सरह लगानी गर्न हाल विद्यमान ऐन तथा कानूनमा रहेका अवरोधहरुलाई हटाउन सरकार संग पहल गर्ने ।

घ) विविधतामा एकता भएको प्राकृतिक सौन्धर्यता र प्राचीन संपदाको अथाह श्रोत भएको नेपाललाई पर्यटन मार्फत हाम्रो देशको असली पहिचन गराई देशलाई समृद्ध पनि वनाउन सकिन्छ भन्ने विश्वासलाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रमा गैरआवासीय नेपालीहरुको स साना लगानीलाई प्रोत्साहन गर्दै आधुनिक शैली अपनाई द्रुत गतीमा देशलाई पर्यटन गन्तव्य वनाउन अविलम्व पहल गर्ने ।

(ड.) नेपाल लाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्य स्थलमा परिचित गर्न पृथक तवरले टुरिष्ट बुष्ट गर्ने उद्देश्य सहित अन्य यूवा जागरुकता र शशक्तिकरण सेमिनार हरु संचानल गरी राष्ट्रिय स्तरको देशका सवै शहरहरुमा स्वच्छ सझा हराभरा मेरो शहरको परिकल्पना सहित विषेश सरसफाई अभियान सुरुवात गरिने छ ।

(च) नेपालमा स्वास्थ्य क्षेत्रलाई निम्न आय भएका र श्रमीक वर्ग लगायत सवैमा सहजता प्रदानको लागी नेपाल सरकार संग समन्य गरी विषेश श्रमीकमैत्री अस्पतालहरु स्थापनाको लागी पहल गरिने छ ।

२)    व्यवस्थित मर्यादित र सुरक्षित वैदेशिक रोजगार
(क)   वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार र विदेशस्थित नेपाली नियोगहरुसंग सहकार्य गर्ने ।
(ख) अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरुले सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालको हितमा परिचालन गर्ने र संस्थागत संरचना बनाउने ।
(ग) वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सीप र ज्ञानको तालिम दिएर विभिन्न देशमा रोजगारीकालागि जाने वातावरण बनाउने आवश्यक पहल गर्ने ।
(घ) विदेशमा सिकेको ज्ञान र सीपलाई एकिकृत गरेर ज्ञान सीप बैंकको स्थापना गर्ने ।
(ङ)मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुकोलागि छुट्टै राहत कोष स्थापना पहल गर्ने ।
(च) विश्वका धेरै मुलुकमा नेपालीहरु रोजगार एवं विभिन्न उद्धेश्यका लागि जाने गरेको हामी सवैमा अवगत नै छ तर सवैका लागि सफल र सहज गन्तव्य नहुने हुँदा आवश्यक रहदा सवै ठाउँ र विषेश गरी मध्यपूर्व, मलेसिया तथा अन्य देशमा पनि भवितव्य पर्न गएमा उनिहरुलाई  सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने ।

३)  हाम्रो राम्रो र प्रविधिमैत्री एनआरएनए
(क)  संघलाई सबैको अपनत्व हुनेगरी सबै वर्ग र क्षेत्रका सबै नेपालीहरुलाई समेट्न विधानलाई पालना गर्ने पद्धति बसालिने छ ।
(ख) संस्थालाई सेवामूलक बनाउन गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाइनेछ ।
(ग)  गैरआवासीय नेपाली संघको संस्थागत संरचनालाई प्रविधि मार्फत जोडिने र स्मार्ट एनआरएनए, अनलाईन मतदान र एमआइएस लगायतका क्षेत्रमा थप परिस्कृत गरिनेछ ।

(घ) संघको सचिवालय संचालनलाई व्यवस्थित गर्दै संस्थागत आर्थिक पारदर्शीतालाई सदै चुस्त बनाइनेछ ।

(ङ)आम गैरआवासीय नेपालीहरुलाई स्वस्फूर्त संघमा आवद्धता गराई संघको लोकपृयतालाई आघाढ वनाउन संघका लक्षित उद्देश्यहरुलाई अविलम्व कार्यान्वयनमा लिईनेछ ।

४)  महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रुपान्तरण
(क)   संघको संशोधित विधान अनुरुप संघभित्र छुट्टै संरचना वनाई नयाँ पुस्ता अर्थात सेकेण्ड जनेरेशन लाई यो अभियानमा जोडिने छ ।
(ख)   संघ भित्र युवा तथा महिला सहभागीलाई थप मजबुद बनाइने छ ।
(ग) विदेशमा हुर्किदै गरेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृति, पर्यटन तथा नेपालमा स साना लगानीको क्षेत्रमा उत्प्रेरित गरिनेछ ।
५)  समृद्ध नेपालका आधार नागरिकता र मताअधिकार
(क) संविधानले प्रस्ताव गरेको गैरआवासीय नेपाली नागरिकतालाई लागू गर्न थप सहजिकरण गर्ने र व्यवाहारिक बनाउन नेपाल सरकारसंग सहकार्य गरिनेछ ।
(ख)वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गरिनेछ।
(ग) नेपालको आमनिर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराउने उद्देश्यले शुरु हुन लागेको मतदाता संकलनलाई व्यवस्थित गर्न नेपाल सरकार र विदेशस्थित नेपाली नियोगहरु मार्फत सहकार्य गरिनेछ ।
(घ) गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसंग विशेष पहल गरिने छ ।
६)  प्राविधिक शिक्षा तथा यूवा स्वरोजगार
(क) मूलुक संवृद्धिको मुख्य कारण प्राविधिक ज्ञान नै हो भन्ने तर्क विश्वभर नै प्रमाणित भएको अवस्थामा गैरआवासीय नेपाली र नेपाल सरकारको समन्वयमा दक्ष कामदार र प्राविधिकहरु उत्पादनको लागि नेपालको ७ वटै प्रदेशहरुमा प्राविधिक शिक्षालयहरु स्थापनाको लागि अहम भूमिका निभाउने मेरो मुख्य लक्ष्य रहेको छ ।
(ख)  युवा शक्ति मुलुक निमार्णको प्रमुख अङ्ग हो । हामीले युवा शक्तिलाई समयमा उचित प्रवन्ध र युवाहरुको सोच र शीपलाई अवसर दिनका लागि नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउन प्रथामिकतामा राखि एनआरएनए सचिवालयमा रोजगारी हेल्प डेस्क स्थापना गरी मुख्य रुपमा रिटर्नी माईग्रेशन हरुलाई मल्टी नेश्नल कम्पनी संग समन्यव गरी रोजगार सृजना गर्ने र सम्भाव्य क्षेत्रमा युवाहरुको स–सानो वा ठुलो पँुजी सँकलन गरी सामूहिक लगानी बढाउनका लागि प्रोत्साहन तथा पहलगर्ने ।
७) गैरआवसीय नेपाली संघको वैज्ञानिक परिभाषा एवं पारदर्षिता

(क)   एनआरएनएको संस्थागत पारदर्शिता तथा जानकारीहरुलाई प्रमुखता दिदै हामी को हौ ? हामीलाइ के थाहा छ ? र हामी के गर्न सक्छौं ? भन्ने अवधारणलाई अगाडी वढाउँदै एनआरएनएको उद्देश्य अनुरुप अगाडी वढ्ने ।
(ख)   गैरआवासीय नेपालीको प्रारम्भिक वैज्ञानिक परिभाषा अनुरसार सार्कमुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन भन्दा वढी वसोवास गर्ने नेपाली नागरिक गैरआवासीय नेपाली हुन भन्ने मान्यतालाई नेपाल सरकार समक्ष उतm परिभाषा लाई सच्याउनका लागि संघको तर्फवाट पुनः पहल गर्ने ।
८)नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना
(क) आज हामी विदेशमा रहदै गर्दा हामी र नयाँ पुस्तामा भोली कतै विश्वमानै पृथक पहिचान वोकेको हाम्रो नेपाली कला तथा संस्कृति लोप भएर जाने त होइन ? तसर्थ विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषाप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरुको योजना ल्याउने । जस्तै : गायन, नृत्य, खेलकुद, साहित्य लगायतका सिर्जनशिल कार्यक्रमहरुको आयोजना गर्ने ।

(ख) गत कार्यकालमा हामीले सुरुवात गरी ऐतिहासिक रुपमा सम्पन्न गरेको ग्लोवल एनआरएनए सिङ्गिङ्ग आईडल लाई निरन्तरता दिई सिजन २ सहित अगाडी वढाउने ।

अन्त्यमा एनआरएनएका आफ्ना गतिबिधीहरु विधान एवं बिधी र पद्धति सम्मत संचालनका लागि र अपेक्षित स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग  र समर्थन अनुसार अगाडि बढ्ने प्रतिवद्धता सहित आदारिणय संपूर्ण महाधिबेशन प्रतिनिधी ज्यूहरुमा साथ, सहयोग, सद्भाव सहित मलाई विजयी गराउनुहुन  हार्दिक अपिल गर्दछु ।

हार्दिक आभार सहित तपाईहरुको स्नेही ।
राजु रेग्मी “राज”

उपाध्यक्षको प्रत्यासी,
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस