Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगैरआवासीय नेपाली नागरिकता तत्काल लागु गराउन एनआरएनए पदाधिकारीको माग, छिट्टै सम्बोधन हुने र सर्वोच्चको फैसलाले केही कटौती नहुने गगन थापाको घोषणा

गैरआवासीय नेपाली नागरिकता तत्काल लागु गराउन एनआरएनए पदाधिकारीको माग, छिट्टै सम्बोधन हुने र सर्वोच्चको फैसलाले केही कटौती नहुने गगन थापाको घोषणा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गैरआवासीय नागरिकताको मुद्दा छिट्टै टुंगो लाग्ने बताउनुभएको छ ।

संविधानले परिकल्पना गरे अनुरुप नै गैरआवासीय नेपालीहरुले उठाएको मुद्दा सम्बोधन हुने उहाँले बताउनुभएको हो । एनआरएनए एनसीसी अमेरिका र एनआरएनए एनसीसी क्यानाडाद्वारा आइतबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद थापाले पछिल्लो पटक नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलाले गैरआवासीय नेपालीको अधिकारमा कटौती नगरेको र संवैधानिक व्यवस्था अनुसार नै प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

संसदले दुई, दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिकोमा गएर अड्किनु दुखद् भएको भन्दै उहाँले संसद्को चालु अधिवेशनबाटै नागरिकता विधेयक अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विदेशी नागरिकता लिए पनि नेपालस्थित पैतृक सम्पत्ति सुरक्षित रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंले राजस्व तिरेर खरीद गरेको सम्पत्ति वैध नै हुन्छ, त्यस्तो सम्पत्ति राज्यले खोस्न मिल्दैन । अहिले देखिएको रवीको नागरिकता विवाद र गैर आवासीय नेपाली नागरिकताका बारेमा धेरै फरक रहेको जनाउनुहुदै घिमिरेले गैर आवासीय नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले गैर आवासीय नेपाली नागरिकताको अल्झाएर नराखी सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने भन्दै उहाँले सरकारले त्यसका लागि सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपालीको सरोकार राख्ने निकाय परराष्ट्र मन्त्रालय र मन्त्रालयले सुरूका दिनमा गैरआवासीय नेपाली ऐन, नियमावली निर्माण गर्न मन्त्रालयले सकारात्मक भूमिका खेलेको स्मरण गराउँदै थापाले ऐनले परिकल्पना गरेका कतिपय विषयहरू कार्यान्वनमा मन्त्रालय थप जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संविधान आएको यत्तिका वर्षसम्म पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नगर्नु दुखद् भएको भन्दै संसदको चालु अधिवेशनबाटै यो मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

आचार्य बर्षौदेखी गैर आवासीय नेपाली नागरिकताका बारेमा आवाज उठाउदै आएका अभियन्ताका रुपमा चिनिनुहुन्छ । आचार्यले सबै राजनितीक दल र नेतृत्वलाई अनुरोध र दवाव दिएर नै भए पनि गैर आवासीय नेपाली नागरिकता बिधेयक पारित गराउन आफुहरु लागिरहेको बताउनुभयो । यसै सिलसिलामा संघको प्रतिनिधीमंडलले प्रधानमन्त्री,पररास्ट्र मन्त्रीलगाएत सबै मन्त्रीहरु,राजनैतिक नेतृत्वलगाएत सरोकारवाला निकायलाई भेटेर आफ्नो मागहरु लिखित रुपमै पेश गरेको आचार्यले बताउनुभयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले रवि लामिछाने प्रकरणले संसारभरिका एनआरएनहरु ससंकित भएको बताउनुभयो । उहाँले संविधानअनुसार एनआरएन नागरिकता प्रदान गर्न पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह पनि गर्नुभयो ।

संघका उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनसँग सम्बन्धित दर्जनौं ऐन, कानूनहरुमा संशोधन आवश्यक रहेको बताउनुभयो । कतिपय कानूनी अड्चनले पनि गैरआवासीय नेपालीमाथि न्याय हुन नसकेको उहाँको भनाई थियो ।
कार्यक्रममा संघका महासचिव डा केशब पौडेलले पछिल्ला केही परिघटनाले गैरआवासीय नेपाली समेत त्रसित भएको भन्दै सरकारले एक पटकको नेपाली सदैव नेपाली भन्ने मूल मर्मलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पौडेलले जतिसक्दो छिटो गैर आवासीय नेपाली नागरिकता बिधेयक पारित गराउन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले पहिला दुई पटक दुवै संसदवाट पारित भएर गएको बिधेयक रास्ट्रपतीबाट फर्कनु दुखद रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै गैर आवासीय नेपाली नागरिकता बिधेयक तत्काल पारित गर्नुपर्ने बताउनुभयो । सुवेदीले यो बिधेयकसङ्गै नेपालमा लगानिको वातावरण बनाउन पनि सरकारसँग माग गर्नुभयो ।

एनआरएनए अमेरिका र एनआरएनए क्यानाडाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो भने उपस्थिति जनाएका सबैले समय सान्दर्भिक कार्यक्रम अयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरेका थिए ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रियाको सञ्चालन एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतमले गर्नुभएको थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस