Techie IT
×
गृहपृष्ठसमाचारदुबईमा नेपाली सिनेमा फेस्टिभल फेब्रुअरी १२ देखि १५ सम्म हुदैं

दुबईमा नेपाली सिनेमा फेस्टिभल फेब्रुअरी १२ देखि १५ सम्म हुदैं


युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय व्यवस्थापनको जिम्मा एनआरएन युएईले लिएको छ । कार्यक्रम व्यवस्थित गर्न एनआरएन युएईको सहकार्यमा नेपाली समाज युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ युएई, अन्तर्राष्ट्रिय कलाकार समाज युएईलगायत युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने गरी मूल आयोजक समिति संयोजक एनआरएन युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना रहने गरि टिम तयारी गरिएको मध्यपुर्ब संयोजक मनोज गोर्खालीले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन युएईको देयरा स्थित अल गुरियर सेन्टरको स्टार सिनेमा हलमा नेपाली सेलिब्रेटिको साथमा कबड्डी कबड्डी– ४ फिल्म प्रदर्शन हुनेछ । दोस्रो दिन दुबईको होलिडे इन होटेलको सभा हलमा नेपाली सेलेब्रिटीहरूको साथमा सांस्कृतिक प्रस्तुतिहरू हुनेछ ।

तेस्रो दिन बरदुबईको अस्कोट होटलमा समूह छलफल ९प्यानल डिस्कसन० हुनेछ भने उक्त दिन नै दुबई सिटी भ्रमण पनि गराईनेछ । कार्यक्रमको अन्तिम दिन पुनः देयरामा रहेको स्टार सिनेमामा ‘ऐना झ्यालको पुतली’ चलचित्रको प्रदर्शन हुनेछ ।

कार्यक्रममा संकलन भएको रकमबाट युएईमा रहेर समस्यामा परेका नेपालीको सहयोगार्थ राहत तथा उद्दार कोष स्थापना गरिने र उक्त कोषलाई युएईमा रहेका नेपाली संघसंस्थाको समन्वयमा सञ्चालन गरिने कार्यक्रमका संयोजक ठाकुर ढुंगानाले बताए ।
कार्यक्रमका लागि नेपालबाट विभिन्न कलाकार, पत्रकारको जम्बो टोली युएई आउँदै छ । जसमा ऐना झ्यालको पुतली चलचित्रका प्रोड्युसर रामकृष्ण पोखरेल, भूषण दाहाल, भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, प्रशान्त ताम्राकार, नरेश भट्टराई, सन्दीप श्रेत्री, रवि ओड, नर्वदा लकन्दरी, जिया केसी, राज कटुवाल, अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई, गोविन्द शाही, रामबाबु गुरुङ, प्रकाश सुवेदी, समीर बलामी, अनुप भट्टराई, विष्णु शर्मालगायत करिब ४० जना सहभागी हुनेछन् ।

कार्यक्रम सफल बनाउन र युएईमा रहेका नेपालीलाई उपस्थित गराउन युएईमा क्रियाशील नेपाली संघसंस्थाले विभिन्न उपसमिति बनाएर तयारी गरिरहेका छन् । स्थानीय रूपमा व्यवस्थापनको जिम्मा लिएको एनआरएन युएईका महासचिव दीपक खड्काले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

चलचित्र विकास बोर्डको योजनाअनुसार आयोजित कार्यक्रमले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन नेपाल सिनेमा फेस्टिभलले ठूलो सहयोग पुर्‍याउने एनआरएन युएईका अध्यक्ष ढुंगानाले बताए । आफुहरुले चलचित्र क्षेत्रमा पनि गैर आवासीय नेपालीको योगदान रहेको देखाऊन यो कार्यक्रमको स्थानीय साझेदारीको जिम्मा लिएको बताए ।अध्यक्ष ढुंगानाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाउदै उक्त दिन युएईवासी नेपालीलाई उपस्थितिको लागी आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस