Techie IT
×
गृहपृष्ठआर्थिकविकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने

विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने


विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक बिद्युत उत्पादन शुरु : अध्यक्ष न्यौपाने
काठमाडौ ,गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभा  काठमाडौको भिनोलिभा रेस्टुरेन्टमा शुक्रवार सम्पन्न भएको हो । साधारणसभामा अहिलेसम्मको आय ब्यय विवरण पेश गर्नुको साथै बहुमत सेयर सदस्यहरुवाट पाससमेत भएको छ । विकास हाईड्रो पावरले अबको केही दिनमा नै आफ्नो उत्पादन शुरू गर्ने हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
गोरखा जिल्लाको  दुर्गम गाउँमा  बनेको हाईड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष  खगेन्द्र न्यौपानले बताए । साधारणसभामा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक  कृष्ण घिमिरेले स्वागत मन्तब्य गर्दै हालसम्म साथ दिने र उपस्थित सबै सेयर सदस्यलाई धन्यवाद ब्यक्त गरे । उक्त हाईड्रोको अध्यक्षमा न्यौपाने,प्रवन्ध निर्देशकमा घिमिरे र निर्देशकहरुमा सरोज धिताल,जोन घले , इन्द्र बहादुर ढकाल,सुनिल श्रेष्ठ रहेका छन । उक्त कार्यक्रममा संचालक समितिले हाइड्रोका विविध बिषयमा प्रकास पारेका थिए । उक्त हाइड्रो ४.५५ मेगावाटको रहेको छ । उक्त हाइड्रो सम्पन्न गरेसङ्गै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले बताए ।

उक्त कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको आ. ब. २०७८ / ०७९ को वार्षिक प्रतिवदेन उपर छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ अषाढ मसान्तको वासलात, २०७८ श्रावण १ गते देखि २०७९ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरिएको थियो । यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरिक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गरि निजको पारिश्रमिकसमेत तोकिएको छ भने आ.व. ०७८ / ०७९ को हालसम्मको कार्य प्रगति प्रतिवेदन सम्बन्धमा पनि छलफल गरिएको थियो । उक्त साधारण सभाले खरिद सम्झौताहरुलाई अनुमोदन समेत गरेको छ ।
साधारण सभाले प्राथमिक शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्तावहरु समेत पारित गरेको छ । जुन निम्न रहेको छ ।
१. प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।
२. प्रबन्धपत्र र नियमावलीमा भएको संशोधन नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग) ले कुनै फेरबदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक समायोजन गर्न हाइड्रोपावरको संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५(ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा कजा अनुमोदन गर्ने तथा आयोजनाहरुको निर्माणको लागि थप आवश्यक कर्जा लिन संचालक समितिलाई अख्तियारि प्रदान गर्ने सम्बन्धमा ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको छैठौं बार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेद्वारा प्रस्तुत भएको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन निम्न रहेको छ ।
आदरणीय शेयरधनी महानुभावहरु, विकाश हाइड्रोपावर कम्पनि लिमिटेडको छैठौं वार्षिक साधारण सभामा उपस्थित सम्पुर्ण आमन्त्रित अतिथि गण, संचालकहरु, लेखा परीक्षक, सञ्चारकर्मी तथा उपस्थित शुभचिन्तकहरुमा कम्पनीको संचालक समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्याउन चाहन्छु । यस कम्पनीको २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण तथा आवश्यक अन्य वित्तीय विवरणहरु यस गरिमामय सभामा स्वीकृतिका लागि प्रस्तुत गर्ने अनुमति चाहन्छु । प्रस्तुत वित्तीय विबरण तथा प्रतिवेदनको अध्ययन पश्चात यहाँहरुबाट प्राप्त हुने रचनात्मक सुझाव, सहयोग र सदभावले कम्पनीको भावी कार्य योजना निर्माण तथा लक्ष्य प्राप्तिमा थप सहयोग पुग्ने छ भन्ने विश्वास मैले लिएको छु ।
कम्पनीको संक्षिप्त परिचय : यस कम्पनीले नेपालमा रहेको अपार जलश्रोतलाई उर्जाशक्तीमा परिणत गरी जलविद्युत आयोजनाहरुको विकास, निर्माण तथा संचालन गरेर उर्जाको माग थोरै भएपनि परिपुर्ति गर्ने उद्देश्यले उक्त अभियानमा सर्वसाधारण जनतालाई समेत सहभागि गराई लगानी तथा सहभागिता बढाउने गरी मिति २०७९ साल जेष्ठ २५ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित भई कारोबार गर्दै आएको छ । गोरखा जिल्ला धार्चे गाउँपालिका –४, माछाखोलामा आयोजना निर्माण कार्य गर्दै आएको यस कम्पनीको जडित क्षमता ४.५५ मेगावाट रहेको छ । हाम्रो हालको कार्य प्रगति विवरण अनुसार आयोजनाको ट्रान्समिसन लाईन को Testing गरी सवस्टेशन समेतको चेक जाँच गर्ने कार्य भइसकेको छ साथै Power House मा Electromechanical Equipment को Installation कार्य सम्पन्न गरी मेसिनहरुको आन्तरीक प्राविधिक परीक्षण भइरहेको अवस्था रहेको छ त्यसै गरी Penstock Pipe को Installation र Testing गरी हाल Water Filling को कार्य सुरु भइसकेको र यहि २०७९ साल माघ महिनाको दोस्रो हप्ता देखि व्यवसायिक रुपमा बिद्युत उत्पादन गर्ने अनुमान गरीएको छ । यस आयोजनाको Gross Head २१९.५ मिटर, Net Head २११.६७ मिटर र ईन्टेक क्षेत्रको Catchment Area ६५.६ बर्ग कि.मी. रहेको छ ।

यस कम्पनीको आ.ब. २०७८ ७९ को वित्तीय विवरणहरु एन एच अधिकारी एण्ड एसोसिएटस, चार्टर्ड एकाउन्टेन्ट्स द्धारा लेखापरिक्षण गरिएको छ । कम्पनीको दीर्घकालिन ऋण रास्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको छ र २०७९ आषाढ मसान्तसम्म जम्मा रु ५३,८२,२६,९१९ /- (अक्षेरुपी त्रिपन्न करोड बयासी लाख छब्बिस हजार नौ सय उन्नाइस मात्र ) साँवा ऋण तिर्न बाँकी रहेको छ ।
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट आयोजनाको निर्माण कार्यलाई कुनै असर परेको भए सो असर: विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ को असर साथै रसिया युक्रेनको युद्धले विश्वव्यापि रुपमा सृजना भएको पेट्रोलियम पदार्थ, फलाम तथा अन्य विभिन्न निर्माण सामाग्रीको अध्याधिक मुल्य बृद्धि भएकोले निर्माण सम्पन्न गर्न केहि ढिला भएको छ ।
(ग) प्रतिवेदन तयार भएको मिति सम्म चालु वर्षको उपलब्धि र भबिष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा : यस कम्पनीले संचालन गर्ने माथिल्लो माछाखोला साना जलविद्युत आयोजना ४.५५ मेगावाट बाट संभव भएसम्म बढी विद्युत उत्पादन गर्न प्रविधिको उच्चतम प्रयोग, स्रोत साधनको व्यवस्थापन तथा परिचालन गर्नेछ । जोखिम न्युनीकरणको लागि सम्भव भएसम्मका उपायहरु अवलम्बन गरी जोखिम न्युनीकरण सम्बन्धि कार्य गर्नेछ । सर्वसाधारणमा प्रारम्भिक शेयर सार्वजनिकरण (IPO) सम्बन्धित कार्यहरु तदारुकताका साथ गर्नेछ ।
(घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध : यस कम्पनीले सबै सरकारी निकायहरु, संघ संस्था, शेयरधनी महानुभावहरु लगायत अन्य सरोकारवाला निकाय तथा व्यक्तिहरु संग पारदर्शी एवम सुमधुर सम्बन्ध कायम राख्दै आएको छ । कम्पनीले नेपाल सरकारको विभिन्न निकायहरु जस्तै बिद्युत बिकाश बिभाग, नेपाल बिद्युत प्राधिकरण, उद्योग विभाग, कम्पनी रजिष्टारको कार्यालय, आन्तरीक राजश्व कार्यालय, नेपाल सरकारका मन्त्रालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनी, आयोजना क्षेत्रमा स्थानिय सरकारी र गैर सरकारी निकायहरु, पार्टपूर्जा तथा उपकरण आपुर्तीकर्ता, विभिन्न स्वदेशी गैर सरकारी संघ संस्थाहरु तथा अन्य सबै सरोकारवालाहरु संग सौहार्दपूर्ण सुमधुर सम्बन्ध कायम राख्दै व्यवसाय सञ्चालन गर्दै आएको छ । साथै कम्पनीले जलविद्युत क्षेत्रमा के-कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न संघ संस्थासंगको छलफललाई निरन्तरता दिँदै आएको छ ।

संस्थागत सुशासन कम्पनीको संस्थागत सुशासन कायम राख्न व्यवस्थापन तथा संचालक समिति सदा प्रतिबद्ध रहेको छ । प्रचलित कानुन र नियमन निकायबाट जारी भएका सुशासन सम्बन्धी व्यवस्थाहरु तथा निर्देशिकाहरु पूर्ण रुपमा पालना गरिएको छ। आन्तरिक र बाहय लेखापरिक्षकहरुले दिनुभएको सल्लाह, सुझाब तथा निर्देशनहरुको पालना गर्ने गरिएको छ । दैनिक प्रशाशनिक कार्यहरुलाई थप चुस्त दुरुस्त बनाउन प्रबन्ध निर्देशकको नियुक्ति गरिएको छ ।

लेखापरीक्षकको नियुक्ति
आ. ब. २०७८/७९ को लेखापरिक्षक श्री एन एच अधिकारी एण्ड एशोशिएट्स चार्टड एकाउण्टेण्टस् नै आ व २०७९/८० को लेखापरीक्षण गर्नको योग्य देखिएकोले लेखापरीक्षक श्री एन एच अधिकारी एण्ड एशोशिएट्स चार्टड एकाउण्टेण्टस् कम्पनीलाई नै रु.१,१३,००० (मु.अ.कर सहित पारिश्रमिक प्रदान गर्ने गरी नियुक्ति गर्ने प्रस्ताव स्विकृतिको लागि यस सभामा पेश गरिएको व्यहोरा अनुरोध छ । लगत मयमा उपकरण संस्थागत सामाजिक उत्तरदायित्व विगत वर्षमा जस्तै यस कम्पनीले आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । स्थानिय क्षेत्रमा वासिन्दाहरु हिंडडुल गर्ने बाटोघाटो र पुलको मर्मत गरिएको छ। स्थानिय सरकार संग समन्वय गरी स्थानिय बाटोहरु मर्मत तथा स्तरोन्नती गरिएको छ। खेतिपातीको सिचाइका लागि कुलो मर्मत गरिएको छ । त्यसैगरी वातावरण संरक्षण गर्नको लागि वृक्षारोपण गर्ने, भुक्षय रोकथामका कार्यहरु गर्ने र आयोजनाबाट निस्कने प्रदुषण कम गर्ने उपायहरु गरिएका छन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले खुद मुनाफाको १ प्रतिशत रकमको व्यवस्था गरी खर्च गर्ने प्रचलन रहेको छ । अन्त्यमा कम्पनीलाई आजको यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नेपाल सरकार उर्जा मन्त्रालय, वन मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, विभिन्न बाणिज्य बैंक तथा वितिय संस्थाहरु, बीमा कम्पनीहरु, वित्तिय तथा प्राविधिक परामर्शदाताहरु, निर्माणको डिजाइन तथा सुपरिवेक्षण गरिदिने परामर्शदाताहरु, कानुनी सल्लाहकारहरु, संरचना निर्माणमा सहयोग पुयाउनु हुने स्थानिय वासिन्दाहरु, राजनैतिक दलहरु, यस कम्पनीको काममा अहोरात्र मिहिनेत गर्नुहुने प्रबन्ध निर्देशक लगायत सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

खगेन्द्र न्यौपाने – अध्यक्ष
बिकास हाईड्रो पावर कम्पनी लिमिटेड


क्याटेगोरी : आर्थिक, समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस