Techie IT
×
गृहपृष्ठसमाचारआयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने

आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने


काठमाडौं -आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतसमेतलाई जनाउँछ ।

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुनेगरी जिल्ला न्यायाधीशलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।

 

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।जनतापाटि


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग

तपाईको प्रतिक्रिया दिनुहोस