Techie IT
×
गृहपृष्ठसमाचारटोल-टोलमा आपतकालीन राहत कोष स्थापना

टोल-टोलमा आपतकालीन राहत कोष स्थापना


काठमाडौँ-बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् ।

आर्थिक रूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । शनिबार भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरे । हरेक कोषमा उनले रु ५० हजार आर्थिक सहयोग गरेका छन्।

यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेका थिए । टोलभित्र आइपर्ने विपद्मा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्ने गरी कोष स्थापना गरिएको सभाषद सुवेदीले बताए । टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन ।

गत वर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि उनले यसलाई निरन्तरता दिएको बताए । उनले अन्य टोल विकास संस्थामा पनि यस्ता कोष स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने जानकारी दिए । इन्द्रेणीटोलका अध्यक्ष मिलनकुमार लामाले टोलमा गरिने सहयोगले स्थानीयवासीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे । कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक रु १०० बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिए।रासस


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस