Techie IT
×
गृहपृष्ठमनाेरञ्जन“कर्णालीकी बुहारी“ देखि काठमाण्डौं सम्म

“कर्णालीकी बुहारी“ देखि काठमाण्डौं सम्म


काठमाण्डौं, मानव र मानवीयतासंग जोडिएको प्रमुख कड़ी हो समाज सेवा । निस्वार्थरुपमा गरीने यही कार्य मानवीय आचरणवादले चुनौति पूर्ण बनाएको छ । विकटताको हिसाबले हेरीने कर्णाली, सामाजिक रुपमा हेरीने छोरी(महिला) हुँदै  पारिवारिक रुपमा हेरीने बुहारी सम्म पुग्दाको चुनौती सायदै सहज नहोला । यही चुनौतिलाई आफ्नो दिनचर्या बनाउन सफल नाम हो बसन्ती सिंह शाही । उनै शाहीद्वारा लिपिबद्ध चित्रण गरीएको निबन्ध हो “कर्णालीकी बुहारी” । जस्ले क्षेत्र, लिङ्ग र ज़िम्मेवारीलाई टुक्राउदै भोग्नुपेका पिडा, दुख र उल्झनलाई पानामा उतारेको छ ।

राजनीतिकरुपमा सकृय आफ्ना श्रीमान देखि पारिवारिक ज़िम्मेवारी त निर्वाह गर्छीन नै व्यवसायिक ज़िम्मेवारीलाई  साथमा राखेर सामाजिक कार्यमा पनि अत्यन्तै कृयाशील छिन् । राप र चापले गर्दा हिरा बने जस्तै कर्णालीकी बुहारी कड़ी बनेको छ शाहीको जीवनमा र त आज नयाँ चिनारी थपिएको छ निबन्धकार । उनै लेखिकाद्वारा लेखिएको निबन्ध संग्रहको शनिवार लोकार्पण गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका छन् ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले आफूले ५०औं वर्षपछि कर्णालीको विषयमा लेखिएको यथार्थमा आधारित नयाँ पुस्तक पढ्न पाएकोमा खुसी व्यक्त गरे । आफू वर्र्षौं पहिला कर्णाली जाँदा देखेका र अनुभूत गरेका कुरा पनि पुस्तकमा समेटिएको बताउँदै उनले सत्यतथ्यमा आधारित पुस्तक प्रचारप्रसारमा आउनु सबल पक्ष रहेको बताए ।

सोही कार्यक्रममा सञ्चारकर्मी मैनालीले अन्य प्रकाशित पुस्तकमा नपाइने विचार, दृष्टिकोण यस पुस्तकमा रहेको बताए । उनका अनुसार पुस्तकमा लेखक स्वयं आफैंले भोगेका दुःख, पीडा र गरिब तथा निमुखा वर्गले पाएको दुःखको समेत चित्रण गरिएको छ । त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य भुसालले कर्णाली क्षेत्रको रहनसहनका साथै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि पुस्तकमा समेटिएको बताउदै भनिन्, ‘यी लेखिकालाई परिवर्तनका लागि सबै महिलाको साथ रहनेछ, उहाँले सुरु गर्नुभएको परिवर्तनको आवाज उठाउने काम अगाडि बढाउनुहोस् भन्न चाहन्छु ।’

सामाजिक क्षेत्रमा विश्वमै अग्रणी भुमिका निर्वाह गर्न सफल रोटरी ईन्टरन्याश्नलको शाखा रोटरी क्लब अफ भादगाँउको अध्यक्ष जस्तो गरीमामय पद भर्खरै सम्हालेर सामाजिक उत्तरदायित्वलाई शिरोपर गरेकी लेखक शाहीले विमोचित कृति उनको जिन्दगीको गराइ, देखाइ र भोगाइमा आधारित रहेको बताइन् ।

सोही कार्यक्रममा प्रमुख अतिथि जोशीलाई स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्लाले दोसल्ला ओढाएर सम्मान गरेको थियो । पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

 


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस