Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?

महत्वपूर्ण विधेयक अघि बढाउँदै सरकार


काठमाडौँ। सरकारले राष्ट्रिय महत्वका विद्येयकहरु अघि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयमा रहेका विधेयकहरु अगाडि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उनले जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई चालु अधिवेशनमै संसदमा लैजानुपर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।
सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सबै दलका प्रमुख सचेतक र प्रतिनिधिहरुलाई बोलाएर नागरिकता ऐन, संघीय निजामती सेवा ऐन, एकीकृत शिक्षा ऐनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउन चाहेको बताएका थिए । संविधान कार्र्यान्वयनसँग समेत जोडिएका विधेयकहरु अगाडि बढाउने सरकारको तयारी रहेको दलहरुलाई जानकारी गराएका प्रचण्डले मन्त्रीहरुलाई पनि विधेयकहरु छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।
संसदको चालु अधिवेशनबाटै नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, मिडिया काउन्सिल विधेयक, सम्पत्ति शुद्धिकरणसम्बन्त्री विधेयक, आपूर्तिसम्बन्धी विधेयकलाई अगाडि बढाउने सरकारको तयारी छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता विधेयकले ऐनको रुप लिन पाएको थिएन । एमाले नेतृत्वमा सरकार हुँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै जारी हुने गरी प्रतिवेदन तयार पारेको थियो । त्यसमा नेकपा एमाले र माओवादी केन्द्र सहमत थिए । पछि सरकार फेरिएपछि माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषय ०६३ अनुसार नै विवाह दर्ता लगत्तै जारी हुन सक्ने कांग्रेसको प्रस्तावमा समर्थन जनाएको थियो ।
राज्य व्यवस्था समितिको प्रतिवेदनको आधार देखाएर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी छैनन् । संघीय निजामति विधेयक पनि अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा छलफल भएको थियो । सहमति जुट्न नसकेपछि सरकारले फिर्ता नै लिएको थियो । नयाँ सरकार आएपछि यसलाई पनि अगाडि बढाउने तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
यसैबीच प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नभएको तिमिल्सेनाले दाबी गरे । ‘सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय महत्वको विषय भएकाले अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरूलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस